काठमाडौं, २६ कात्तिक । सरकारले जापानमा प्राविधिक अभ्यासार्थी कामदार पठाउने निर्देशिका–२०६६ खारेज गर्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहसचिव पिताम्बर घिमिरेको संयोजकत्वमा समिति गठन गरी अध्ययन सुरु गरेको छ ।
जापानले सन् २०१७ मै जिट्को प्रणाली खारेज गरी नयाँ टेक्निकल इन्टर्न ट्रेनिङ प्रोग्राम लागू गरेको थियो । अब सन् २०२७ देखि इम्प्लोयमेन्ट फर स्किल डेभलपमेन्ट कार्यक्रम ल्याउने तयारीमा जापान छ । तर, नेपालमा अझै पुरानो निर्देशिकाअनुसारै कामदार पठाइँदै आएको छ ।
म्यानपावर व्यवसायीहरूले जिट्को प्रावधान खारेज गरी सबै लाइसेन्सधारी कम्पनीलाई जापानमा कामदार पठाउन अनुमति दिन माग गर्दै आएका छन् । मन्त्रालयका अधिकारीका अनुसार समितिको सुझावपछि निर्देशिका औपचारिक रूपमा खारेज गरिनेछ ।





