खेलकुद

विराटनगर किंग्सले पोखरालाई दियो एनपीएलकै उच्च २२१ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको मंगलबारको खेलमा विराटनगर किङसले पोखरा एभेन्जर्सलाई अहिलेसम्मकै उच्च २२१ रनको लक्ष्य दिएको छ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२० रन बनाएको हो ।

यो एनपीएल इतिहासकै उच्च रन हो । पहिलो सिजनको सातौ खेलमा लुम्बिनी आयन्सले विराटनगर किङसलाई नै १९१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । विराटनगरले १९३ रनको बनाउँदै उक्त लक्ष्य पूरा गरेको थियो ।

विराटनगरले मंगलबारको खेलमा अर्को कीर्तिमान पनि राखेको छ । यो सिजनमा एक खेलमा एकै टिमका दुई खेलाडीले एकसाथ अर्धशतक हान्दै कीर्तिमान कायम गरे । विराटनगरका ओपनर लोकश बम र ब्याटर मार्टिन गुप्टिलले पोखराविरुद्ध अर्धशतक प्रहार गरेका हुन् ।

यो कीर्तिमानी लक्ष्य प्रस्तुत गर्न विराटनगरका लोकेशले ४८ बलमा ७२ रन जोडे । उनले ७ छक्का र एक चौका प्रहार गरे । उनी आजको खेलको विराटनगरका सर्वाधिक रनकर्ता हुन् । मार्टिनले भने ३५ बलमा तीन चौका पाँच छक्का प्रहार गर्दै ६१ रन जोडे ।