बसन्ती धामी (बस्सु) / काठमाडौँ एउटा भित्ते चित्रजस्तै हो, जहाँ प्रत्येक रङ्ग समयसँगै मर्छन्, फेरि जन्मिन्छन् पनि । काठमाडौँ नाम मात्रै उच्चारण गरेकै क्षणमा एक विचित्रको अनुभव मेरो मनमा उठ्छ । सहरको धुलोले ढाकिएका फाँटहरू होइन, पुराना भित्री गल्लीमा भिजेका कथा होइन, तर मन–मस्तिष्कको सबभन्दा संवेदनशील कुनामा रहिरहने एउटा स्वाद, एउटा धुन जस्तै । काठमाडौँ एक सहर मात्र होइन, अनेकौँ भोगाइहरूको मिश्रण पनि हो । कहिले हल्का चिसो हावा, कहिले उकुसमुकुस गरिएको धुलो, कहिले मठ मन्दिरहरूको टन्टनाहट, कहिले कोलाहल र भिडभाड भित्र जन्मिएको प्रेम । मैले बुझेको काठमाडौँ पुस्तकका अक्षरजस्तै होइन, मानिसका श्वास–प्रश्वासभित्र बाँचिरहेको एउटा जीवित भावना हो ।
काठमाडौँ सहर इतिहासले बनाएको सहर होइन, यो सहर इतिहास स्वयं हो । यहाँका ढुङ्गाका पाटी, धुवाँले कालो बनाएको देवालयका ढोकाहरू, बाहिरी ढोकामा उकेरिएका लकडीका कलाकृतिहरू यी सबै बोलिरहन्छन् । शायद बाहिरबाट हेर्दा काठमाडौँ पुरानै मानिन्छ, तर भित्र/भित्र चाहिँ यो सहर अद्भुत ऊर्जा बोकेको एउटा यात्रा हो । हनुमानढाेका घुम्दा लाग्छ, समयकै सुरुवात यहाँबाट भएको हो कि? वसन्तपुरका रङ्गिन झ्यालहरू हेर्दा लाग्छ, वास्तुकलाले नियालेर समयलाई नै रोकिदिएको छ । काठमाडौँ मेरो लागि इतिहासको पाठ्यपुस्तक होइन, समयसँग संवाद गर्ने माध्यम हो ।
काठमाडौँ बुझेँ भने मलाई लाग्छ यस सहरको आत्मा पूजा–आरामा मात्र सीमित छैन । पाटन दरबार क्षेत्र, भक्तपुरको न्यौपाने गल्ली, स्वयम्भूको ३६५ सिँढी यी सबैसँग मेरो हिँडाइ जोडिएको छ ।
काठमाडौँले मलाई धर्म होइन, विश्वास सिकाएको छ । विश्वास जो मेरो भित्र शान्तिको एउटा सानो फूलझैँ फुलिरहन्छ । काठमाडौँको साँचो कथा भनेको भिडभाडको कथा हो । यो भिडभाड बाहिरका मानिसका लागि असह्य लागे पनि, यहीँ जन्मेर हुर्किएका वा यहाँ आएर बाँच्न सिकेका मानिसका लागि यही भीड जीवनको रिदम हो । गोङ्गबु, चाबहिल, कोटेश्वर, न्यूरोड, वसन्तपुर कतै आवाज त कतै मौनता देखिरहन्छु । तर सबै ठाउँमा एउटा समानता रहन्छ त्यो हो, मानिसहरूको हतार ।
मैले बुझेको काठमाडौँ भनेको हतारको सहर मात्र होइन । यस हतारभित्र लुकेका भावनाहरूको सहर पनि हो । तिमी रोइरहेको छौ भने पनि भीडले देख्दैन, तिमी हाँसिरहे पनि भीडले देख्दैन । काठमाडौँले मलाई यो सिकायो भावनाहरू भित्रै राख्नुपर्छ, किनकि सहर भव्य भए पनि हरेक मानिस आफ्नो अस्तित्वसँग गोप्य युद्ध लडिरहेका छन् ।
काठमाडौँ बुझेँ भने सबैभन्दा मन पर्ने रूप रातको सहर हो । राति नौ बज्नासाथ काठमाडौँको स्वरूप पूर्णतः रूपान्तरित हुन्छ । मानौँ दिनभर सामाजिक भूमिकामा बाँधिएको सहर साँझ पर्दा आफ्नो वास्तविक, निसंकोच चरित्रमा फर्किन्छ । ठमेलका गल्लीहरू उज्यालो, धुन र विविध संस्कृतिको सजीव सङ्गमझैँ स्पन्दित हुन्छन् । दरबारमार्ग आधुनिकताले सुशोभित दृश्य बनेर कफीको हल्का सुगन्ध, न्यानो प्रकाश र सहरी आकर्षणले अझै उज्यालिन्छ । बौद्ध क्षेत्र भने शान्त प्रार्थनाको अविरल लयमा बाँधिएको मनलाई स्थिरता प्रदान गर्ने आन्तरिक तेजको प्रतिरूप बनेर उभिन्छ । दिन समाजको हो, तर रात रात भने आत्मासँग नजिक हुनेहरूको हो। मैले बुझेको काठमाडौँ स्थिर छैन ।
हरेक वर्ष, हरेक महिना, हरेक दिन यो सहर बदलिन्छ । धुलो बढ्छ, ट्राफिक थपिन्छ, भवनहरू ठडिन्छन्, गल्लीहरू सकिन्छन्, जङ्गल हराउँछन् । तर यो परिवर्तनभित्र पनि सहरको मूल आत्मा बचिरहेको छ । बौद्धको काठमाडौँ, कला संस्कृतिको काठमाडौँ, प्रेम र दर्दको काठमाडौँ यी टहराहरू अझै जीवित नै छन् । तीव्र परिवर्तन भित्र पनि आफ्नो पहिचान खोज्न पनि मलाइ काठमाडौँले नै सिकायो । काठमाडौँ सम्झँदा सडक, मठ, मन्दिर भन्दा पहिले मनमा आउँछ मानिस।
काठमाडौँका मानिसहरू अनौठा छन् थाकेका तर सङ्घर्षशील, दबिएका तर अभिव्यक्तिपूर्ण, कठोर तर अन्तर्मनमा नरम । काठमाडौँ आएकाहरू अवसर खोज्न आउँछन् ।
काठमाडौँमा जन्मिएका जिम्मेवारी बोकेर अडिन्छन् । यहाँ हरेक अनुहारमा उस्तै चिन्ता, उस्तै अपेक्षा, उस्तै सपना देखिन्छ । काठमाडौँ एक ठुलो परिवारजस्तै हो बाहिर त अलग–अलग, तर भित्र–भित्र सबैका दर्द–सपना उस्तै । काठमाडौँमा पढाइको उद्देश्य लिएर आउँदा सङ्घर्ष केवल किताब र परीक्षा मात्र होइन । यहाँको महँगाइले, ट्राफिकले, भिडभाडले र लगातारको स्वरले शान्तिसँग बस्नै दिदैनन् । समय प्रायः दौडमा बित्छ । क्याम्पसबाट घर, घरबाट अफिस, अफिसबाट पुस्तकालय र कहिलेकाहीँ लाग्छ, मन र शरीर दुवै थाकिसक्यो । मेरो पढ्ने इच्छा र काठमाडौँ सहरबिच निरन्तर द्वन्द्व चलिरहन्छ । द्वन्द्व यहीबिच हुन्छ मलाई सङ्घर्षको अनुभूति । तर फेरी सम्झन्छु, काठमाडौँले मात्र होइन, मैले पनि यो सहरलाई बुझ्नुपर्छ । जीवनमा जस्तै काठमाडौँको सौन्दर्य अपूर्णताको भित्रै छ । अपूर्णता नै यसको पहिचान हो । प्रेम काठमाडौँको अलिखित अध्याय काठमाडौँ बुझेपछि मैले प्रेमलाई नयाँ तरिकाले बुझ्न सिकेँ । यहाँका गल्लीहरूले असङ्ख्य प्रेमकथाहरू बोकेका छन् ।
काठमाडौँ पूर्णतामा रमाउँछु भन्ने होइन, धुलो, धुवाँ, ट्राफिक, प्रदूषण, काठमाडौँका गहिरा चोट हुन् । कहिले त मन पनि खिन्न हुन्छ, किनकि सहर बाँच्न कोसिस गरिरहेछ, तर सहरलाई बाँच्ने ठाउँ कम हुँदै छ ।
वसन्तपुरको चिया पसलले हरेक दिन कतिपय “पहिलो डेटका” धड्कन सुन्छ । बौद्धको चौतारीले कतिपय “टुटेका प्रेम”का आँसु–सुस्केरा थाम्छ । ठमेलका कफीशपहरूले कति जनाको “फेरी भेटौँ” को आशा समाउँछन् । काठमाडौँले मलाई प्रेम कसरी जन्मिन्छ भनेर मात्र होइन, सिकायो भिडभाड, हतार, व्यस्तता र अनिश्चितताबिच पनि प्रेम कसरी टिकिरहन्छ भनेर ।
काठमाडौँले मलाई धेरै कुरा सिकाएको छ, धैर्य गर्न ट्राफिकले सिकाएको छ, संयम भीडले सिकाएको छ, आत्मविश्वास अवसरहरूको भिडन्तले सिकाएको छ, सन्तुलन आधुनिकता र परम्परा बिच सङ्घर्षले सिकाएको छ । जीवनप्रतिको प्रेमलाई गल्लीको मौनताले सिकाएको छ । जीवन चलिरहेको छ भने, हिँडिरहनुपर्छ । काठमाडौँ मेरो लागि ‘सहर’ होइन, यो मेरो आत्माको एउटा टुक्रा हो । यो सहरले मलाई थकित पनि बनाउछ, तर यही सहरले मलाई अडिग, भावुक, संवेदनशील र वास्तविक पनि बनाएको छ । अपूर्णता भित्रको सौन्दर्य हो, भिडभाडमा लुकेको मौनता हो, इतिहास भित्र बाँचिरहेको आधुनिकता हो, धुलोमा पनि चम्किरहेको सपनाको पहिचान हो ।
काठमाडौँ तिमी कहिल्यै पूर्ण छैनौ, तर तिम्रो अपूर्णतामै म फिदा छु ।





