शिक्षा

नार्कका ६ वैज्ञानिकसहित ११ कर्मचारी सम्पर्कविहीन, सेवाबाट हटाउने प्रक्रिया सुरु

१४ मङ्सिर, काठमाडौँ ।  नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का ११ कर्मचारी लामो समयदेखि कार्यालयमा नआएपछि सम्पर्कविहीन भएका छन्। परिषदले उनीहरूमाथि कारबाही प्रक्रिया अगाडि बढाउँदै सार्वजनिक सूचना जारी गरेको छ।

सम्पर्कविहीनमध्ये ६ जना वैज्ञानिक रहेका छन्। अध्ययन बिदामा गएकामध्ये समयमै हाजिर हुन कबुल गरेर पनि फर्किन नआएका वैज्ञानिकहरूमा अच्युत मिश्र, नविन कुमार दंगाल, होमन रेग्मी, संजिव गौतम, देवराज चालिसे, प्रतिष्ठा अधिकारी र दिनेश बाबु थापा मगर छन्।

यस्तै, अन्य कर्मचारी डा. सुमन कार्की, उज्ज्वल सुवेदी, अतित पराजुली र अस्मिता श्रेष्ठ पनि लामो समयदेखि अनुपस्थित रहेको नार्कले जनाएको छ।

परिषदका अनुसार सबैजनाले बिदामा जाँदा तोकिएका सर्तहरू तथा कबुलियतनामा उल्लंघन गरेका छन्। उनीहरूले अध्ययन सकिएपछि तोकिएको समयमा हाजिर हुनुपर्ने भए पनि नफर्किएकाले सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन आग्रह गरिएको छ।

नार्कले सार्वजनिक सूचनामा कर्मचारी प्रशासन विनियम २०४९ अनुसार उनीहरूको हाजिरी नबनाएको कार्यले नोकरी स्वतः टुट्ने आधार पूरा हुने भन्दै, सेवाबाट किन अलग गर्न नपर्ने भन्ने कारण पेश गर्न निर्देशन दिएको छ।

परिषदले चेतावनी दिँदै तोकिएको समयभित्र नआए उनीहरूलाई पदबाट निष्कासन गर्ने अन्तिम तयारी भइरहेको जनाएको छ।