अन्तर्राष्ट्रिय

श्रीलंका, इन्डोनेसिया र थाइल्यान्डमा भीषण विपत्ति: हजारौँ प्रभावित

१६ मंसिर, काठमाडौं। एशियाका विभिन्न देशहरू पछिल्ला केही दिनयता लगातार आएको आँधीबेहरी, बाढी र पहिरोका कारण गम्भीर रूपमा प्रभावित भएका छन्। एक साताको अन्तरालमै आएको तीन ठूला आँधीबेहरीले विभिन्न देशमा व्यापक जनधनको क्षति पुर्‍याउँदै एक हजारभन्दा बढी मानिसको ज्यान लिएको अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन्।

श्रीलंकामा आएको चक्रवात ‘दित्वा’ ले व्यापक विनाश मच्चाउँदा इन्डोनेसिया ‘सेन्यार’ आँधीले तहसनहस भएको छ। यससँगै थाइल्यान्ड र मलेसिया पनि भीषण प्राकृतिक विपत्तिको चपेटामा रहेका छन्।

श्रीलंकामा चक्रवात ‘दित्वा’ का कारण भएको क्षतिमा अहिलेसम्म कम्तीमा ३३४ जनाको मृत्यु भइसकेको छ भने ३७० भन्दा बढी मानिस बेपत्ता रहेका छन्। क्यान्डी शहर सबैभन्दा ठूलो प्रभावित क्षेत्र बनेको छ, जहाँ ८८ जनाको मृत्यु र १५० जना बेपत्ता भएको सरकारी स्रोतले जनाएको छ।

बादुल्लामा ७१, नुवारा एलियामा ६८ र मटालेमा २३ जनाले ज्यान गुमाएका छन्। यो चक्रवातले देशभरका ३०९,६०७ परिवारलाई प्रत्यक्ष प्रभावित बनाएको छ, जसबाट ११ लाखभन्दा बढी नागरिकको जनजीवन अस्तव्यस्त बनेको छ। धेरै स्थानमा सम्पर्क विच्छेद भएकाले उद्धार तथा राहत कार्यमा कठिनाइ देखिएको अधिकारीहरूको भनाइ छ।

इन्डोनेसियामा आँधी ‘सेन्यार’ का कारण आएको बाढी र पहिरोले मृत्युको संख्या झनै बढ्दै गएको छ। राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी) का अनुसार, जासुमात्रा टापुका तीन प्रान्तमा आएको विनाशपछि मृतक संख्या ४४२ पुगेको छ। उत्तर सुमात्रा सबैभन्दा बढी प्रभावित बनेको छ, जहाँ २१७ जनाको मृत्यु भएको छ र २०९ जना बेपत्ता छन्।

आचेह प्रान्तमा ९६ जनाको मृत्यु तथा ७५ बेपत्ता, पश्चिम सुमात्रामा १२९ जनाको मृत्यु र ११८ जना बेपत्ता भएका छन्। तीव्र वर्षा र बाढीका कारण ३५.४ लाखभन्दा बढी नागरिक प्रभावित भएका छन् भने हाट याई सबैभन्दा बढी क्षति बहन गरेको शहरको रूपमा रहेको छ। सोङ्गखला प्रान्तमा सरकारले आपतकाल घोषणा गर्दै बाढीपीडितलाई सुरक्षित स्थानतर्फ सार्ने काम तीव्र पारेको छ।

दक्षिणी थाइल्यान्ड पनि उही प्राकृतिक विपत्तिको चपेटामा परेको छ। आँधीबेहरीसँगै आएको भीषण बाढीले मर्नेको संख्या १७० नाघेको छ। पानीको सतह घट्न थाले पनि धेरै क्षेत्रमा उद्धार कार्य जारी छ।

सरकारी प्रवक्ता सिरिपोङ अंगकासाकुलकियातका अनुसार, आठ दक्षिणी प्रान्तमा ठूलो जनधन क्षति भएको छ, जसमा सोङ्गखला प्रान्त सर्वाधिक प्रभावित बनेको छ। त्यहाँ मात्रै ११० जनाले ज्यान गुमाएका छन्।

एशियाका यी देशहरूमा देखिएको लगातार प्राकृतिक प्रकोपले उद्धार, राहत तथा पुनःस्थापनाका चुनौती बढ्दै गएको छ। अधिकारीहरूले मृतक र बेपत्ता संख्या अझै बढ्न सक्ने जोखिम रहेको बताएका छन्।