२० मंसिर, ओखलढुङ्गा । ओखलढुङ्गाको ढेबुवा क्षेत्रका स–साना विद्यार्थीहरू अहिले दैनिक सुनकोशी नदी पार गरेर सिन्धुलीका विद्यालयमा पढ्न जान बाध्य छन् । गत वर्ष असोजको बाढीले ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ र सिन्धुलीको फिक्कल गाउँपालिका–६ जोड्ने झोलुङ्गे पुल बगाएपछि यहाँका २६ जना विद्यार्थी रबरबोट (डुङ्गा) चढेर जोखिम मोल्दै विद्यालय पुगिरहेका छन्।
गाउँमा गुणस्तरीय विद्यालय नभएका कारण ढेबुवा र जेरुङघाटका विद्यार्थीहरू छिमेकी जिल्लाका रत्न गङ्गा मावि र आधारभूत विद्यालय राईगाउँ तीनखण्डेमा पढ्दै आएका हुन्। बाढीले पुल बगाएपछि लामो समय विद्यार्थीहरू पढाइबाट वञ्चित भएका थिए। केही समयअघि गृहमन्त्रालयको सहयोगमा रबरबोट सञ्चालन सुरु गरिएको छ, तर यो अस्थायी र जोखिमपूर्ण उपाय भएको छ।
विव्यस अध्यक्ष रोशन भण्डारीका अनुसार, “बोट संचालनले विद्यार्थीलाई विद्यालय पु¥याउने काम त भइरहेको छ, तर दिगो समाधान भनेको पुल निर्माण हो। स्थानीय प्रतिनिधिले पहल नगरेको कारण अहिले समेत स्थायी पुल बनेको छैन।”
फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले भने, “तीनखण्डेमा पुल निर्माणको योजना अघि बढाइरहेका छौँ। तालिमप्राप्त कर्मचारी राखेर बोट सञ्चालन गरिएको छ र छिमेकी जिल्लाका स्थानीय नागरिकलाई समेत नदी पार गर्न सहयोग मिलिरहेको छ।”
विद्यार्थीहरू बिहान ५ बजे सुनकोशी किनारमा भेला भएर १२ कक्षासम्मको पढाइका लागि बोटमा पालैपालो राखेर नदी पार गर्छन्। जोखिमका कारण अभिभावकहरूले पनि बालबालिकालाई नदी पार गराउँदा धेरै पिर अनुभव गर्नुपरेको छ।
स्थानीयहरूका अनुसार, पुल नहुँदा दैनिक जीवन पनि प्रभावित भएको छ। घरायसी सामान किन्न डेढ घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता छ। बाढीले बगाएको झोलुङ्गे पुलको स्थायी निर्माणको माग अहिले पनि भइरहेकै छ।





