२१ मंसिर, काठमाडौं। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर १० हजार ९२६ मतदानस्थल रहने प्रारम्भिक तयारी गरिएको छ। निर्वाचन आयोग, गृह मन्त्रालय र सुरक्षा निकायले मतदाता संख्या र अघिल्लो निर्वाचन संरचनाको आधारमा प्रस्तावित संख्या तय गरेका हुन्। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सूचीमा केही थप–घट हुनसक्ने बताए।
सुरक्षा मूल्यांकन अनुसार ३,५१८ मतदानस्थल अतिसंवेदनशील, ४,५२९ संवेदनशील र २,८७९ सामान्य श्रेणीमा राखिएका छन्। तराईका जिल्लाहरूमा बढी जोखिम देखिएको छ।
यसैगरी २२ हजार ३०४ मतदान केन्द्र प्रस्तावित छन्, जसमा ७,१५० अतिसंवेदनशील, ९,३२० संवेदनशील, ५,८३४ सामान्य छन्।
मतदानका दिन तीन तहमा सुरक्षा व्यवस्था रहनेछ। पहिलो घेरामा म्यादी प्रहरी, नेपाल प्रहरी र गुप्तचर, दोस्रोमा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना तैनाथ गरिनेछ। सेनाको परिचालनका लागि राष्ट्रपतिबाट स्वीकृति प्राप्त भइसकेको छ।
निर्वाचन सुरक्षाका लागि १ लाख ३२ हजारभन्दा बढी म्यादी प्रहरी भर्ती प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यसपटक उनीहरूलाई “निर्वाचन सुरक्षा प्रहरी” नाम दिने तयारी छ।
जेनजी आन्दोलनपछिको अवस्थाले सुरक्षा संवेदनशीलता थपिएको बताइएको छ। आन्दोलनका क्रममा १४ हजारभन्दा बढी कैदी फरार, १,२७१ प्रहरी हतियार लुटिएको तथा ९८ हजार गोली हराएको हुँदा मतदानस्थलको जोखिम स्तर उच्च देखिएको सुरक्षा निकायहरूको निष्कर्ष छ।





