२३ मङ्सिर, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले देशका विश्वविद्यालयहरूमा राजनीतीकरण अन्त्य गर्न सरकार ठोस रूपमा अघि बढेको बताएकी छन् । धुलिखेलमा आयोजित काठमाडौँ विश्वविद्यालयको ३१ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले अबदेखि विश्वविद्यालयका कुलपति प्रधानमन्त्री नभई प्राज्ञिक व्यक्ति राख्ने व्यवस्था बन्ने स्पष्ट गरिन्।
काठमाडौँ विश्वविद्यालयकी कुलपति समेत रहेकी प्रधानमन्त्री कार्कीका अनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको नेतृत्वमा शिक्षाविद्हरु, विभिन्न विश्वविद्यालयका कुलपति–उपकुलपति तथा सरोकारवालासँग ऐन संशोधनबारे व्यापक परामर्श भइरहेको छ।
“उच्च शिक्षामा देखिएको राजनीतिक हस्तक्षेप अन्त्य गर्न प्राज्ञिक व्यक्ति नै कुलपति हुने व्यवस्था गर्दैछौँ,” प्रधानमन्त्री कार्कीले भनिन्, “यसले विश्वविद्यालयलाई स्वायत्त, निष्पक्ष र गुणस्तरीय बनाउन मद्दत पुग्नेछ।”
समारोहमा उनले काठमाडौँ विश्वविद्यालयले उच्च शिक्षा सुधारमा स्थापित गरेको उदाहरण प्रसंसनीय रहेको उल्लेख गर्दै देशभरका विश्वविद्यालयलाई यस्तै शैक्षिक गुणस्तर र स्वायत्ततामा केन्द्रित भएर अघि बढ्न आग्रह गरिन्।





