राजनीति

एमाले महाधिवेशन: ओली समूहले टुंगो लगायो पदाधिकारी प्यानल

२९ मंसिर, काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनका लागि केपी शर्मा ओली समूहले पदाधिकारीका उम्मेदवारहरूको नाम करिब टुंगो लगाएको छ । अध्यक्षमा ओली आफैं उम्मेदवार रहने निश्चित छ भने महासचिवमा शंकर पोखरेल दोहोरिने भएका छन् ।

उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल र पृथ्वीसुब्बा गुरुङको नाम तय भइसकेको छ । प्रदीप ज्ञवालीको नामबारे भने ओलीसँग छलफल जारी छ । उपमहासचिवमा विष्णु रिमाल, भानुभक्त ढकाल र रघुबिर महासेठ फाइनल भएका छन् ।

९ सचिवमा शेरधन राईसहित हिक्मत कार्की, राजन भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, पद्मा अर्याल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र लेखराज भट्टको नाम टुंगो लागेको स्रोतले जनाएको छ ।

यता ईश्वर पोखरेल समूहले पनि पदाधिकारीको प्यानल तय गरिसकेको छ । दुवै समूहमा नपरेका आकांक्षी नेताहरूले भने स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।