पुरानो फोक्सोसम्बन्धी रोगबाट पीडित नर्वेकी ५२ वर्षीया राजकुमारी मेट्टे–मेरिटको स्वास्थ्य अवस्थामा ‘स्पष्ट गिरावट’ देखिएपछि उनलाई फोक्सो प्रत्यारोपण गर्नुपर्ने सम्भावना बढेको नर्वेको शाही दरबारले शुक्रबार जनाएको छ ।
दरबारद्वारा जारी विज्ञप्तिमा ओस्लो युनिभर्सिटी अस्पतालका पल्मोनरी मेडिसिन प्रमुख डा. आर. मार्टिन होल्मले भनेका छन्, “हामी फोक्सो प्रत्यारोपण आवश्यक पर्ने समय नजिक आइपुगेका छौँ र समय आएमा यो प्रक्रिया सम्भव होस् भन्ने उद्देश्यले आवश्यक तयारी गरिरहेका छौँ ।” उनका अनुसार प्रत्यारोपणको ठोस समय निर्धारण भइसकेको छैन, तर चिकित्सकीय मूल्याङ्कनलाई निरन्तर ध्यानमा राखिएको छ ।
राजकुमारी मेट्टे–मेरिटले सन् २०१८ को अक्टोबरमा आफूलाई दुर्लभ प्रकारको पल्मोनरी फाइब्रोसिस भएको पत्ता लागेको सार्वजनिक गरेको थियो । यो रोग असाध्य मानिन्छ, जसले फोक्सोमा दाग पार्ने र सास फेर्न गाह्रो बनाउने समस्या उत्पन्न गर्दछ । सोही कारण उनले पछिल्ला वर्षहरूमा स्वास्थ्यका कारण कहिलेकाहीँ सार्वजनिक कार्यक्रमहरू सीमित गर्नुपर्ने र बिरामी बिदामा जानुपर्ने अवस्था आइरहेको छ ।
डा. होल्मले भने, “राजकुमारीलाई फोक्सो प्रत्यारोपणका लागि प्रतीक्षा सूचीमा कहिले राखिने भन्ने विषयमा अझै निर्णय भएको छैन ।” दरबारले यस शरद ऋतुमा गरिएका विभिन्न परीक्षणहरूले उनको स्वास्थ्य अवस्थामा स्पष्ट गिरावट देखाएको जानकारी पनि दिएको छ ।
यद्यपि, दरबारका अनुसार उनले आफूलाई सक्षम महसुस गर्ने समयसम्म सार्वजनिक दायित्व र कार्यक्रमहरूलाई निरन्तरता दिने योजना बनाउनु भएको छ । शाही परिवारले उनको स्वास्थ्य अवस्थाबारे नियमित रूपमा जानकारी गराउँदै आएको छ ।
पछिल्ला महिनाहरूमा मुकुट राजकुमारी मेट्टे–मेरिट व्यक्तिगत कारणले पनि नर्वेको समाचार शीर्षकमा रहेएको छ । राजकुमार प्रिन्ससँग विवाहअघि भएको सम्बन्धबाट जन्मिएका उनका २८ वर्षीय छोरा मारियस बोर्ग होइबीमाथि चार महिलामाथि बलात्कार गरेको आरोप लागेको छ । ती आरोपलाई होइबीले अस्वीकार गरेको छ । उनीविरुद्ध फेब्रुअरीमा मुद्दा चलाइने र दोषी ठहर भएमा १० वर्षसम्मको जेल सजाय हुन सक्ने जनाइएको छ ।





