२१ पुस, काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर जाडो बढ्दै गएको छ । तापक्रम निरन्तर घट्दै जाँदा काठमाडौं उपत्यकामा यस वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस आसपास पुगेको छ । मौसमविद् बिनु महर्जनका अनुसार काठमाडौंमा आज न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस मापन गरिएको छ भने ललितपुरको सानेपा क्षेत्रमा ३.३ डिग्री सेल्सियससम्म झरेको छ ।
तापक्रम घटेसँगै आइतबारदेखि काठमाडौं उपत्यकामा घाम पनि कम देखिन थालेको छ, जसले चिसो अझै बढाएको छ । बिहान र बेलुकाको समयमा बाक्लो चिसो महसुस हुन थालेको स्थानीयवासीहरूले बताएका छन् ।
यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडो बढ्ने पूर्वानुमान गर्दै अनावश्यक काममा बाहिर ननिस्किन आग्रह गरिसकेको छ । मन्त्रालयले विशेष गरी बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई चिसोका कारण स्वास्थ्य समस्या देखिन सक्ने भएकाले न्यानो कपडा लगाउन, चिसोबाट जोगिन र आवश्यक सावधानी अपनाउन सुझाव दिएको छ ।
मौसमविद्हरूका अनुसार आगामी केही दिनसम्म चिसो अझै कायम रहन सक्ने भएकाले सर्वसाधारणले सतर्कता अपनाउनुपर्ने देखिएको छ ।





