पर्यटन/संस्कृति

क्यासिनोमा ‘हाइटेक जुवा’ : आइलेन्स लगाएर ठगी, भारतीय समूहका ४ सदस्य कारागार चलान

२४ पुस, काठमाडौं । ठमेलस्थित छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा अत्याधुनिक प्रविधि प्रयोग गरेर जुवा खेल्दै/खेलाउँदै ठगी गर्ने समूहका चार सदस्य कारागार चलान भएका छन्।

काठमाडौं जिल्ला अदालतले ठगी कसुरमा भारतका ५७ वर्षीय सुरेश महाजन, ३९ वर्षीय प्रमोद मौर्य, ३२ वर्षीय विक्रम सिंह र ३७ वर्षीय दिनेश बर्मालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। अदालतको आदेशअनुसार उनीहरूलाई सुन्धारास्थित केन्द्रीय कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए।

यस्तै, सुनसरीकी ३५ वर्षीया चिजा खड्का र काठमाडौंकी ४० वर्षीया भवानी पाण्डे जनही एक/एक लाख धरौटी बुझाएर छुटेका छन्। अर्का चिनियाँ नागरिक वाङ पुफा यान होउ पाँच लाख धरौटी तिरेर रिहा भएका छन्।

यस प्रकरणमा क्यासिनो सञ्चालक विनोद भनिने जनार्दन उप्रेती, गौरव खत्री, मोनु भनिने निरज कुमार, हिरा शेखर मल्ली पुरी र कमल खरबन्दा (मुकेश) भने फरार छन्।

प्रहरीका अनुसार भारतीय महाजन समूहले म्याग्नेटिक चिप जडान गरिएको तास र त्यससँग कनेक्ट हुने विशेष आइलेन्स प्रयोग गरी क्यासिनो खेल्दै करोडौँ रुपैयाँ ठग्ने योजना बनाएको थियो। आइलेन्स लगाएपछि खेलाडीले पछाडिबाटै कसलाई कुन तास परेको छ भन्ने जानकारी पाउने र महाजन समूहले खडा गरेका डमी खेलाडीमार्फत खेल नियन्त्रण गर्ने गरिएको थियो।

समूहले नेपालमा ‘क्यासिनो इभेन्ट’ आयोजना गर्ने बहानामा क्यासिनो बुक गर्ने, खेलाडीका लागि पाँचतारे होटलमा ११० वटा कोठा आरक्षण गर्ने र सम्पूर्ण खेल व्यवस्थापन आफैंले गर्ने योजना बनाएको खुलेको छ। तासदेखि चिपसम्मको व्यवस्थापन महाजनले आफैं गर्ने र भारतबाटै पेशेवर खेलाडी तथा डमी खेलाडी नेपाल ल्याएर ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।