राजनीति

पतञ्जलि जग्गा भ्रष्टाचार प्रकरण : माधव नेपालसहितको मुद्दाको पेसी माघ १४ मा

७ माघ, काठमाडौं । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपा सहसंयोजक माधवकुमार नेपालसहित जोडिएको भ्रष्टाचार मुद्दाको पेसी माघ १४ गते तोकिएको छ ।

यस मुद्दाको प्रारम्भिक सुनुवाइपछि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सम्बन्धित अनुसन्धान फाइल झिकाउन आदेश दिएको थियो । तर, पहिलो आदेशअनुसार फाइल नआएपछि अदालतले पुनः आदेश दिएको हो ।

आज (बुधबार) अख्तियारबाट फाइल प्राप्त भएपछि अदालतले उक्त मुद्दाको पेसी माघ १४ गतेका लागि तोकेको हो । विशेष अदालतका सूचना अधिकारी यज्ञ रेग्मीका अनुसार, “यसअघि आदेश भए पनि अख्तियारबाट फाइल आएको थिएन । अहिले पुनः आदेशपछि फाइल आएको छ र अब माघ १४ गते सुनुवाइ हुनेछ ।”

अख्तियारले यसअघि मुद्दा नचल्ने भन्दै फाइल तामेलीमा राख्ने निर्णय गरेको थियो । सोही निर्णयविरुद्ध परेको उजुरीको सुनुवाइका लागि अब अदालतले प्रक्रिया अघि बढाउने भएको हो ।

गत जेठ २२ गते अख्तियारले पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा माधव नेपालसहित ९३ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले उनीहरूसँग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो असुलउपर गर्न माग गरेको छ ।

अख्तियारका अनुसार नेपाल प्रधानमन्त्री भएका बेला २०६६ फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा निजी लाभ हुने गरी हस्तान्तरण गर्ने निर्णय गरिएको थियो । सोही निर्णयका कारण ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा हिनामिना भएको अख्तियारको ठहर छ ।

अब माघ १४ गते हुने सुनुवाइबाट यस प्रकरणमा कानुनी प्रक्रियाले नयाँ मोड लिने अपेक्षा गरिएको छ ।