१९ माघ, काठमाडौं । आगामी निर्वाचनको सुरक्षाका लागि खटाइने निर्वाचन प्रहरीमा स्नातकोत्तर उत्तीर्णसमेत सहभागी भएका छन् । नेपाल प्रहरीले हालसम्म एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी छनौट गरिसकेको छ भने सशस्त्र प्रहरी बलले १५ हजार ११० जना छनौट गरेको छ ।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभि नारायण काफ्लेका अनुसार माघ १८ गतेदेखि निर्वाचन प्रहरीका लागि १० दिने तालिम सुरु भइसकेको छ । तालिममा शारीरिक तन्दुरुस्ती, सलामी अभ्यास तथा सर्वसाधारणसँग मर्यादित र व्यावसायिक व्यवहार गर्ने विषयमा प्रशिक्षण दिइँदैछ ।
काठमाडौंमा मात्रै चार हजार ८७३ जना निर्वाचन प्रहरी भर्ना भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीका अनुसार तीमध्ये ६ जना स्नातकोत्तर उत्तीर्ण र ३५ जना स्नातक उत्तीर्ण रहेका छन् ।
देशभर निर्वाचन प्रहरीमा कति जना स्नातकोत्तर उत्तीर्ण सहभागी भएका छन् भन्ने विवरण भने संकलनको क्रममा रहेको प्रहरीले जनाएको छ । डीआईजी काफ्लेले उच्च शिक्षित व्यक्तिहरू पनि निर्वाचन प्रहरीमा भर्ना भएको पुष्टि गर्दै सम्पूर्ण तथ्यांक आउन केही समय लाग्ने बताए ।
यसपटकको निर्वाचनका लागि नेपाल प्रहरीले कुल एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गर्ने तयारी गरेको छ ।





