राजनीति

एमालेको चुनावी घोषणा पत्र तयारीको अन्तिम चरणमा: ईश्वर पोखरेल

२१ माघ, काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीको चुनावी घोषणा पत्र तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्।

उनी एमाले उम्मेदवारहरूसँगको संवाद कार्यक्रममा बोल्दै घोषणा पत्रमा समेटिने मुख्य विषयबारे जानकारी दिएका हुन्। पोखरेलले भने, “हामी घोषणा पत्र तयारीमा छौं। चाँडै नै यसलाई सार्वजनिक गर्नेछौं। नेकपा एमालेले राष्ट्रिय हित, स्वतन्त्रता, स्वाभिमान र राष्ट्रियताको विषयमा जोड दिनेछ। सामाजिक सद्भाव कायम गर्न र विकास निर्माणमा केन्द्रित हुन हामी प्रयासरत छौं।”

उनले भ्रष्टाचार नियन्त्रण, स्वास्थ्य, शिक्षा, रोजगार जस्ता सुशासनसँग जोडिएका विषयहरू पनि घोषणा पत्रमा समेटिने बताए। संविधान संशोधनसम्बन्धी विषयहरू पनि यसमा समेटिने उनले स्पष्ट पारे।

पार्टीले यसपटक घोषणा पत्रमा काम, समय र कार्यान्वयन प्रक्रिया स्पष्ट पारेर पृथक ढंगले प्रस्तुत गर्ने योजना बनाएको छ।