समाचार

प्रधानन्यायाधीश राउतद्वारा नवनिर्मित बैतडी अदालत भवनको उद्घाटन

२३ माघ, बैतडी । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बैतडी जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । आज एक कार्यक्रमका बीच प्रधानन्यायाधीश राउतले भवनको उद्घाटन गरेको बैतडी जिल्ला अदालतका श्रेस्तेदार विष्णुराज पन्तले जानकारी दिए ।

प्रधान न्यायाधीश राउतले नयाँ भवन निर्माणसँगै न्यायिक तथा प्रशासनिक काम कारबाहीमा सहजता हुने बताए । “उच्च नैतिकता र निष्ठापूर्वक काम गरेमा मात्र न्याय सेवा सरल र कम खर्चिलो हुनेछ”, उनले भने, “नवनिर्मित भवनबाट सञ्चालन हुने न्यायिक तथा प्रशासनिक काम कारबाही प्रभावकारी र सेवाग्राहीमैत्री वातावरण सुदृढ हुने र गर्दा सर्वसाधारण जनताको न्यायमा अझ पहुँच पुग्ने दृढ विश्वास छ ।” प्रन्या राउतले गत भदो २३ र २४ गते भएको अप्रत्यासित घटनाले देशका विभिन्न स्थानका २३ अदालत भवनमा ठूलो क्षति पुग्नुका साथै हजारौँ कम्प्युटर तथा अन्य सूचना प्रविधि सम्प्रेषण नष्ट भएकाले भौतिक पूर्वाधार विकास चुनौतीका रूपमा देखापरेको बताए । पाँचतले नवनिर्मित यो भवन निर्माण गर्न ११ करोड ३५ लाख खर्च भएको जिल्ला अदालत बैतडीले जनाएको छ ।