३ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा दुई पटकको विजेता वेस्ट इन्डिजसँग पराजय भोग्दै समूह चरणबाटै बाहिरिएको छ। नेपाल इंग्ल्याण्ड र इटलीसँग पराजित भइसकेको थियो र लगातार तीन हार व्यहोरेर समूहमा अंकविहिन रह्यो।
समूह सी मा वेस्ट इन्डिज अपराजित रहँदै ६ अंकसहित शीर्ष स्थानमा छ। इंग्ल्याण्ड दुई जित र एक हारपछि ४ अंकसहित दोस्रो स्थानमा छ भने स्कटल्याण्ड र इटली २–२ अंकसहित तेस्रो र चौथो स्थानमा छन्।
नेपालले दिएको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो। कप्तान शाई होपले अविजित ६१ रन र शिमरोन हेतमायरले अविजित ४६ रन बनाए। नेपालका लागि नन्दन यादवले १ विकेट लिए।
नेपालले टस हारेर पहिले ब्याटिङ गर्दा ८ विकेट गुमाएर १३३ रन बनाएको थियो। उपकप्तान दीपेन्द्र सिंह ऐरीले ४७ बलमा ५८ रन बनाउँदै नेपाली स्कोर सम्हाले। सोमपाल कामीले अविजित २६ रन जोडे र नेपालका लागि तीन टी-२० विश्वकप खेल्ने पहिलो खेलाडी बने।
नेपालको पावर प्लेमा ३ विकेट गुमाएर २२ रन मात्र बनाउनु टी-२० विश्वकपमा सबैभन्दा कम स्कोर हो। ओपनर कुशल भुर्तेल लगातार दोस्रो खेलमा सिंगल डिजिटमा आउट भए।
अब नेपालका लागि मंगलबार हुने स्कटल्याण्डसँगको अन्तिम खेल केवल प्रतिष्ठाको लडाई मात्र हुनेछ।





