४ फागुन, काठमाडौं । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार रेनु दाहाल यतिबेला घरदैलो अभियानमा सक्रिय रहेकी छन्। चुनावी अभियानका क्रममा आम मतदाताबाट प्राप्त माया, विश्वास र समर्थनले आफूलाई अत्यन्त उत्साहित बनाएको उनले बताएकी छन्।
भरतपुर महानगरपालिकाको प्रमुखका रूपमा नौ वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गर्दै दाहालले आफ्नो कामप्रतिको प्रतिबद्धता र इमान्दारिताकै कारण आज यस्तो अपार स्नेह पाउन सकेको अनुभूति भएको बताइन्।
निर्वाचन प्रक्रियामा सहभागी भएपछि जित र हार दुवैलाई सहर्ष स्वीकार गर्नुपर्ने स्पष्ट गर्दै उनले मतदाताको विश्वास र साथका आधारमा फराकिलो मतान्तरसहित विजय हासिल गर्ने उच्च मनोबल पनि व्यक्त गरेकी छन्।
यसैबीच, मतदातालाई प्रभावित पार्ने उद्देश्यले मत सर्वेक्षणको नाममा निर्वाचन आचारसंहिताविपरीत केही सञ्चारमाध्यमबाट भ्रामक समाचार प्रसारण भएकोप्रति उनले गम्भीर ध्यानाकर्षण गराएकी छन्। यस्ता गतिविधिले समग्र निर्वाचन प्रक्रियालाई नै प्रभाव पार्ने भएकाले कपोलकल्पित तथा अपूर्ण सामग्री प्रकाशन तथा प्रसारण नगर्न सम्बन्धित सबैमा उनले आग्रह गरेकी छन्।
लोकतान्त्रिक मूल्य र मर्यादाको सम्मान गर्दै निष्पक्ष, स्वच्छ र पारदर्शी निर्वाचन सुनिश्चित गर्न सबै पक्षको साथ र सहयोग आवश्यक रहेको दाहालको भनाइ छ।





