पर्यटन/संस्कृति

पशुपतिनाथदेखि वैद्यनाथधामसम्म सीधा यात्रा, भारतले अघि बढायो हाई-स्पिड करिडोर योजना

४ फागुन, काठमाडौं । भारत सरकारले नेपालको पशुपतिनाथ मन्दिर र भारतको झारखण्डस्थित **बैजनाथधाम**लाई जोड्ने नयाँ सडक करिडोर निर्माणको प्रस्ताव स्वीकृत गरेको छ। धार्मिक तथा पर्यटन प्रवर्द्धनलाई लक्ष्य गरी यो करिडोर निर्माण अघि बढाइएको भारत सरकारले जनाएको छ।

भागलपुर हुँदै जाने प्रस्तावित सडक करिडोरको तयारी प्रक्रिया सुरु गर्न केन्द्र सरकारले सम्बन्धित प्रशासनलाई निर्देशन दिइसकेको छ। यो जानकारी बिहारका सडक निर्माण मन्त्री **डा. दिलीप जैसवाल**ले गत मंगलबार विधानसभामा दिएका हुन्। सन् २०२६/२७ को बिहार बजेटमा यस परियोजनाका लागि ८२ अर्ब ६० करोड भारतीय रुपैयाँ विनियोजन गरिएको छ।

मन्त्री जैसवालका अनुसार ‘पशुपतिनाथ–वैद्यनाथ हाई–स्पिड करिडोर’ काठमाडौंबाट सुरु भई भीमनगर र वीरपुर हुँदै बिहारको सुपौल जिल्लामा प्रवेश गर्नेछ। त्यसपछि मधेपुरा, सहरसा, खगडिया, मुंगेर र बाँका हुँदै झारखण्डको देवघरस्थित बैजनाथधामसम्म पुग्नेछ। करिब २४० किलोमिटर लामो यो करिडोर सुल्तानगञ्ज–अगुवानीघाटमा गंगा नदीमाथि निर्माणाधीन पुल भएर जानेछ।

करिब सात महिनाअघि बिहारका उपमुख्यमन्त्री **सम्राट चौधरी**ले केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री **नितिन गडकरी**सँग भेट गरी यस करिडोरको प्रस्ताव राखेका थिए।

श्रावणी मेला र काँवर यात्राका बेला सुल्तानगञ्जबाट जल बोकेर हजारौँ श्रद्धालु पैदल बैजनाथधाम जाने परम्परा रहँदै आएको छ। साथै, पशुपतिनाथ दर्शनका लागि पनि भारतीय तीर्थयात्रीहरूको ठूलो आवागमन हुने गर्दछ। करिडोर निर्माणपछि तीर्थयात्रीहरूका लागि यात्रा अझ सुरक्षित र सहज हुने तथा धार्मिक पर्यटनमा वृद्धि हुने अपेक्षा गरिएको छ।

यस परियोजनामा पैदल यात्रुका लागि छुट्टै ‘सर्भिस रोड’ निर्माण गर्ने योजना समेत समावेश छ, जसले नांगो खुट्टा यात्रा गर्ने श्रद्धालुहरूलाई सहजता दिनेछ। परियोजनाले नेपाल, बिहार र झारखण्डबीच धार्मिक पर्यटनसँगै व्यापारिक तथा आर्थिक सम्बन्धलाई पनि बलियो बनाउने विश्वास लिइएको छ।

भागलपुरका जिल्ला अधिकारी डा. नवल किशोर चौधरीका अनुसार परियोजनाको प्रारम्भिक मार्गचित्र तयार भइसकेको छ। मन्त्रालयबाट विस्तृत प्रस्ताव प्राप्त भएपछि कार्यान्वयन प्रक्रिया अघि बढाइने जनाइएको छ।