राजनीति

देशभन्दा माथि केही छैन : ओली

७ फागुन, काठमाडौं । केपी शर्मा ओलीले वर्तमान परिस्थितिमा नेकपा एमालेको पहिलो प्राथमिकता देश नै भएको स्पष्ट पारेका छन्। उनले भूमि र स्वाधीनता, लोकतन्त्र, संविधान, राष्ट्रिय स्वाभिमान, शान्ति र सुव्यवस्थाभन्दा माथि कुनै विषय हुन नसक्ने बताए।

ओलीले देशको हितभन्दा ठूलो अरू कुनै एजेन्डा नरहेको उल्लेख गर्दै एमाले सधैं राष्ट्रिय एकता र सार्वभौमसत्ताको पक्षमा दृढ रहने धारणा राखे। आक्रमण वा चुनौतीका बेलामा मौन नबस्ने तर अनावश्यक उत्तेजना नफैलाउने उनको भनाइ थियो।

उनले आफूहरू निर्माण र स्थायित्वको राजनीतिमा विश्वास गर्ने स्पष्ट पार्दै उत्तेजनात्मक गतिविधि र दिशाहीन स्टन्टबाट एमाले टाढा रहेको दाबी गरे। भय र त्रासमा बाँचेको समाजलाई शान्ति र सुव्यवस्थाको बाटोमा फर्काउने लक्ष्य पार्टीको रहेको उनले बताए।

ओलीले पार्टीको गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ रहेको दोहोर्‍याउँदै स्पष्ट दृष्टिकोण र नीतिसहित अघि बढिरहेको जिकिर गरे।