समाचार

धादिङ बस दुर्घटनामा ११ पुरुष र ६ महिलाको मृत्यु, विदेशी नागरिकसमेत परे

११ फागुन, काठमाडौं। पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा ६ महिला र ११ पुरुष गरी १७ जनाको मृत्यु भएको पुष्टि भएको छ। दुर्घटनामा घाइते भएका २७ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको छ।

धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार मृतक र घाइतेहरूको परिचय खुल्न बाँकी छ। दुर्घटनामा एक जना न्युजिल्यान्डका नागरिकसहित केही विदेशी पर्यटक पनि परेका छन्।

पृथ्वी राजमार्गअन्तर्गत पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग१ख १४२१ नम्बरको बस राति करिब १ बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा नजिकै सडकबाट करिब तीन सय मिटर तल खसेको थियो। बस नदी किनारमा क्षतविक्षत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनास्थलबाट डुंगाको सहायताले यात्रुहरूलाई करिब एक किलोमिटर तलसम्म पुर्‍याएर, त्यहाँबाट उकालो चढाई एम्बुलेन्समार्फत अस्पताल पठाइएको थियो। रातिको समय, अप्ठेरो भौगोलिक अवस्था र उद्धार सामग्रीको अभावका कारण उद्धारकार्यमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए।

उनका अनुसार घटनास्थलबाट ८ महिला, १८ पुरुष र एक बालिका गरी २७ जनाको उद्धार गरिएको छ।

दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली उद्धारमा खटिएको थियो। सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन आधार शिविर आदमघाट तथा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली परिचालन गरिएको थियो।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।