१४ फागुन, काठमाडौं । आगामी मतदानलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन निर्वाचन अवधिभर मादक पदार्थको बिक्री, वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइने भएको छ। उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णयअनुसार मतदानको मितिभन्दा सात दिनअघिदेखि अन्तिम परिणाम घोषणा नभएसम्म मदिराजन्य पदार्थमा रोक लगाइनेछ।
निर्वाचन आयोगका अनुसार फागुन २१ गते बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ। सोहीअनुसार निर्वाचन सुरक्षा योजना कार्यान्वयन गर्दै मदिरा निषेधको निर्णय गरिएको हो।
यस्तै, फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार पूर्ण रूपमा बन्द गरिनेछ। उक्त अवधिमा निर्वाचन आचारसंहिताको कडाइका साथ पालना गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायलाई निर्देशन दिएको छ।
जिल्ला आचारसंहिता अनुगमन समितिलाई समेत सक्रिय बनाइने भएको छ। निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ अनुसार निषेधित गतिविधि भएमा तत्काल कारबाही गरी आयोगलाई जानकारी गराइने बताइएको छ।
मतदानको दिन अत्यावश्यक सेवा र पास प्राप्त सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारी सञ्चालनमा रोक लाग्नेछ। यो व्यवस्था फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म लागू हुनेछ।
अत्यावश्यक सेवामा एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार, सुरक्षा निकाय, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतका सवारीसाधन समावेश रहनेछन्।
निर्वाचन आयोगले सबै सरोकारवालालाई आचारसंहिता पालना गरी शान्तिपूर्ण मतदानमा सहयोग गर्न आग्रह गरेको छ।





