प्रदेश 1

संखुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं, १५ फागुन । संखुवासभा र ताप्लेजुङको सीमाक्षेत्रमा आज बिहान ४.७ म्याग्निच्युडको भूकम्प गएको छ। बिहान ३:१८ बजे गएको उक्त भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोला आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र ले जनाएको छ।

भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङका विभिन्न स्थानमा महसुस गरिएको थियो। स्थानीय बासिन्दाले छोटो समयका लागि कम्पन अनुभव गरेको बताएका छन्।

प्रारम्भिक विवरणअनुसार हालसम्म मानवीय वा भौतिक क्षतिको कुनै जानकारी प्राप्त भएको छैन। सम्बन्धित जिल्लाका सुरक्षा निकायहरूले अवस्था सामान्य रहेको र थप विवरण संकलन भइरहेको बताएका छन्।

प्रशासनले नागरिकलाई अनावश्यक त्रास नमान्न र सतर्क रहन आग्रह गरेको छ।