राजनीति

कांग्रेस समर्थन विवादले राप्रपा भित्र भाँडभैलो

काठमाडौं, १८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गरे पार्टी अनुशासनअनुसार कारबाही हुने चेतावनी दिएको छ। यस्तो चेतावनी पार्टीले आफ्ना नेता तथा कार्यकर्तालाई दिएको हो।

यसअघि राप्रपा रुपन्देही–२ का क्षेत्रीय अध्यक्ष रामबहादुर थापाले विज्ञप्ति जारी गर्दै कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने घोषणा गरेका थिए। तर जिल्ला अध्यक्ष सागरप्रताप राणाले उक्त विज्ञप्तिको खण्डन गर्दै पार्टीको तर्फबाट कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने कुनै निर्णय नभएको स्पष्ट पारे।

यस्तै, राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले क्षेत्रीय अध्यक्ष थापाको निर्णयमा आफ्नो समर्थन रहेको बताएका थिए। त्यसपछि पार्टीभित्र विवाद चुलिएको थियो।

राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले क्षेत्रीय अध्यक्ष थापाको निर्णयप्रति असहमति जनाउँदै उनलाई निलम्बन गर्ने निर्णय भएको जानकारी दिए। ‘रुपन्देही क्षेत्र नं २ मा राप्रपाले नेपाली कांग्रेसलाई समर्थन गर्ने भनेर आएका समाचारमा कुनै सत्यता छैन,’ श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘राप्रपाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा कसैसँग तालमेल वा समर्थन गर्ने नीति लिएको छैन।’

पार्टीको नीति विपरीत गतिविधिमा संलग्न भए अनुशासनको कारबाही हुने चेतावनी दिँदै राप्रपाले सो क्षेत्रमा समानुपातिकतर्फ मत जुटाउन पार्टी पंक्ति र मतदातालाई अपिल गरेको छ। रुपन्देही–२ मा प्रत्यक्षतर्फ राप्रपाको उम्मेदवार छैन।

२०७९ को निर्वाचनमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले २५ हजार ६७३, नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले २१ हजार १८३, नेपाली कांग्रेसले १३ हजार ४५०, राप्रपाले ५ हजार ६००, जनमुक्ति पार्टीले ४ हजार १९७ र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले ३ हजार ४२९ मत प्राप्त गरेका थिए।

त्यतिबेला एमाले उपाध्यक्ष विष्णु पौडेलले रास्वपाका गणेश पौडेललाई १ हजार ३७० मतले पराजित गरेका थिए।

यसपटक चुनावी मैदानमा विष्णु पौडेल, रास्वपाका सुलभ खरेल, नेपाली कांग्रेसका चुन्नुप्रसाद पौडेल, नेपाल कम्युनिस्ट पार्टीका विश्वदीप पाण्डे (सुभाष) लगायत उम्मेदवार रहेका छन्। जित नजिक रहेका उम्मेदवारहरूले समर्थन खोजिरहेका बेला राप्रपाभित्र देखिएको विवादले रुपन्देही–२ को चुनावी समीकरण थप रोचक बनेको छ।