राजनीति

निर्वाचन सकिएपछि सरकार गठन कहिलेसम्म ? संवैधानिक समयरेखा यस्तो छ

२० फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै अब सरकार गठन प्रक्रिया सुरु हुने समयतालिकाबारे चासो बढेको छ। मतदान शान्तिपूर्ण रूपमा सकिएर मतगणना समयमै टुंगिएमा निर्वाचन आयोगले फागुन महिनाभित्रै प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। नतिजा घोषणा भएपछि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार आयोगले सात दिनभित्र निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने हुन्छ। राष्ट्रपतिले उक्त प्रतिवेदन प्राप्त गरेपछि मात्र नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा अघि बढ्छ।

संविधानको धारा ७६ अनुसार, कुनै दलले प्रतिनिधिसभामा स्पष्ट बहुमत ल्याएमा राष्ट्रपतिले सोही दलका संसदीय दलका नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ। तर कुनै पनि दलले एक्लै बहुमत नपाएमा दुई वा बढी दलको समर्थन जुटाएर बहुमत पुर्‍याउने सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्न आह्वान गरिन्छ, जसका कारण सरकार गठनमा केही समय लाग्न सक्छ। साथै, धारा ९३(१) अनुसार निर्वाचन परिणाम सार्वजनिक भएको एक महिनाभित्र संघीय संसद्को अधिवेशन बोलाउनुपर्ने प्रावधान रहेकाले चैत महिनाभित्रै संसद् बैठक बस्ने र त्यससँगै नयाँ सरकार गठन टुंगिने सम्भावना देखिन्छ। समग्रमा, अन्तिम परिणाम सार्वजनिक भएको करिब एकदेखि डेढ साताभित्र नयाँ सरकार बन्ने अनुमान गरिए पनि यसको गति दलहरूको संख्या र राजनीतिक सहमतिमा निर्भर रहनेछ।