राजनीति

ओलीले भने– “फागुन २१ मेरो जीवनमा दुईपटक नयाँ जीवन पाएँ भन्ने दिन हो”

२१ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले फागुन २१ आफ्नो जीवनका दुई महत्वपूर्ण संयोगसँग जोडिएको दिन भएको बताएका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस दिनलाई आफूले कहिल्यै नबिर्सने बताएका हुन्।

अध्यक्ष केपी शर्मा ओली ले फागुन २१ का दिन सुखानी शहीद दिवस मनाइने र यही मितिमा छ वर्षअघि आफ्नो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको स्मरण गरेका छन्। यी दुवै घटनाले आफूलाई मृत्युको मुखबाट फर्किएर पुनर्जीवन पाएको अनुभूति दिलाएको उनले बताएका छन्।

उनले झापा आन्दोलनको समय सम्झिँदै निरंकुश व्यवस्थाविरुद्ध विद्रोहको सुरुवात भएको उल्लेख गरेका छन्। सो आन्दोलनका क्रममा आफू जेल परेको र आन्दोलनका केही योद्धाहरूलाई जेल सार्ने बहानामा सुखानीको जंगलमा लगेर हत्या गरिएको उनले स्मरण गरेका छन्।

ओलीका अनुसार त्यस घटनामा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण राजवंशी लाई हत्या गरिएको थियो। उनले आफू भने त्यतिबेला मृत्युको मुखबाट जोगिएको र त्यसपछि १४ वर्षसम्म कठोर कारावास भोग्नुपरेको बताएका छन्।

अध्यक्ष ओलीले लोकतन्त्र स्थापनाका लागि बलिदान दिने ती शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै फागुन २१ आफ्नो जीवनमा सधैं सम्झिरहने दिन भएको उल्लेख गरेका छन्।