समाचार

मकवानपुर–१ मा रास्वपाका प्रकाश गौतम दोब्बर मतान्तरले विजयी

४ फागुन, हेटौंडा । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश गौतम दोब्बरभन्दा बढी मतान्तरले विजयी भएका छन् ।

३७ वर्षीय हेटौंडा उपमहानगरपालिका–५ का गौतमले ३६ हजार ३३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनले नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिनालाई पराजित गरे । डिनाले १४ हजार ३८ मत ल्याइन् ।

प्रतिस्पर्धामा तेस्रो स्थानमा रहेका नेकपा एमालेका रामेश्वर रानाले १२ हजार ७८३ मत पाए । अघिल्लो निर्वाचनका विजेतासमेत रहेका राप्रपाका दीपकबहादुर सिंह भने यसपटक छैठौं स्थानमा खुम्चिँदै ४ हजार ५७४ मतमा सीमित भए ।

त्यसैगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का विजय गौतमले १० हजार ७८८, उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले १० हजार २०५ र श्रम संस्कृति पार्टीकी विद्या श्रेष्ठले १ हजार २४ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा कुल ९५ हजार ३ सय १० मत खसेको थियो ।

२०६४ को संविधानसभा निर्वाचनमा पराजित भएका एमालेका रानाको संघीय संसद प्रवेश गर्ने दोस्रो प्रयास यसपटक पनि असफल भएको छ । कांग्रेसकी डिनाले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि यही क्षेत्रबाट राप्रपाका दीपकबहादुर सिंहसँग पराजय व्यहोरेकी थिइन् । त्यसबेला सिंहले २७ हजार ८१६ र डिनाले २५ हजार ४३४ मत प्राप्त गरेका थिए ।

डिनाले प्रत्यक्षतर्फ पाँचौं पटक निर्वाचन हार व्यहोरेकी हुन् । उनले २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने समानुपातिक प्रणालीबाट संसद प्रवेश गरेकी थिइन् । नेकपाका विजय गौतमले भने यसपटक पहिलो पटक चुनाव लडेका थिए ।