काठमाडौं, २६ फागुन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगको वेबसाइटमा प्रविष्ट अन्तिम नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२५ सिटसहित प्रत्यक्षतर्फ पहिलो दल बनेको छ।
दोस्रो स्थानमा नेपाली कांग्रेस १८ सिटसहित रहेको छ भने तेस्रो स्थानमा नेकपा एमाले ९ सिटसहित रहेको छ। चौथो स्थानमा नेपाली कम्युनिस्ट पार्टी ७ सिटसहित रहेको छ। पाँचौं स्थानमा श्रम संस्कृति पार्टीले ३ सिट जित्दै आफ्नो उपस्थिति दर्ज गराएको छ।
यस निर्वाचनमा रास्वपाले ऐतिहासिक उपलब्धि समेत हासिल गरेको छ। ५० हजारभन्दा बढी मतान्तरमा जित हासिल गर्नेदेखि प्रत्यक्षतर्फ अहिलेसम्मकै सबैभन्दा धेरै सिट जित्ने पार्टीको रेकर्ड पनि रास्वपाले बनाएको छ।
तर यही निर्वाचनमा केही उम्मेदवार भने एक मत पनि प्राप्त गर्न असफल भएका छन्। बागमती, मधेश र लुम्बिनी प्रदेशका गरी १४ जना उम्मेदवारले एक मत पनि पाउन सकेनन्।
बागमतीमा ३ जना शून्य मत
बागमती प्रदेशमा तीन जना उम्मेदवारले एक मत पनि पाएनन्। काठमाडौं–१ का अर्जुनबहादुर शाही (नेपाल जनसेवा पार्टी), धादिङ–१ का स्वतन्त्र उम्मेदवार कृष्ण प्रसाद अधिकारी र ललितपुर–१ का स्वतन्त्र उम्मेदवार देवेन्द्र सिंहले शून्य मत प्राप्त गरेका हुन्।
मधेशमा ४ उम्मेदवार शून्यमा
मधेश प्रदेशमा चार उम्मेदवारले एक मत पनि पाएनन्। धनुषा–३ का स्वतन्त्र उम्मेदवार कृष्ण कुमार साह, मात्रिका प्रसाद दास र सीता देवी साहले शून्य मत पाए। त्यस्तै रौतहट–४ की स्वतन्त्र उम्मेदवार कुसुम खातुनले पनि एक मत प्राप्त गर्न सकिनन्।
लुम्बिनीमा सबैभन्दा धेरै
शून्य मत प्राप्त गर्ने उम्मेदवार सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा छन्। गुल्मी–१ का प्रेमप्रसाद श्रेष्ठ र विमल ज्ञवालीले एक मत पनि पाएनन्।
त्यस्तै रुपन्देही–२ का पाँच जना स्वतन्त्र उम्मेदवार टिका बहादुर क्षेत्री, दिलिप कुमार सुनार, बालकृष्ण ज्ञवाली, विमला भट्टराई र विष्णु प्रसाद बस्यालले पनि एक मत पनि प्राप्त गर्न सकेनन्।
यसरी प्रतिनिधिसभा निर्वाचनमा केही उम्मेदवारले उल्लेखनीय जीत हासिल गर्दा केही उम्मेदवार भने आफ्नै मत समेत सुरक्षित गर्न नसकेको देखिएको छ।





