अन्तर्राष्ट्रिय

खाडी क्षेत्रमा जहाजमाथि आक्रमणपछि तेलको मूल्य उकालो, विश्व अर्थतन्त्रमा दबाब

२८ फागुन, काठमाडौं । मध्यपूर्वको खाडी क्षेत्रमा थप तीनवटा मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। बिहीबार एसियाली बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ, जसले विश्व अर्थतन्त्रमा नयाँ चुनौती थपेको विश्लेषकहरूले बताएका छन्।

विशेषज्ञहरूका अनुसार यो मूल्यवृद्धि अमेरिका–इजरायल र इरानबीच बढ्दो तनावसँग प्रत्यक्ष रूपमा जोडिएको छ। विश्व ऊर्जा ढुवानीका लागि अत्यन्त महत्त्वपूर्ण जलमार्ग मानिने हर्मुज स्ट्रेट आक्रमणको जोखिमका कारण लगभग अवरुद्ध अवस्थामा पुगेको छ, जसले आपूर्तिमा अनिश्चितता बढाएको छ।

यसैबीच इरानको रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले अमेरिका र उसका सहयोगी देशहरूसँग सम्बन्धित जहाजहरूलाई निशाना बनाउन सक्ने चेतावनी दिएको छ। आईआरजीसीले परिस्थिति झन् बिग्रिएमा कच्चा तेलको मूल्य प्रतिब्यारेल २०० डलरसम्म पुग्न सक्ने दाबी पनि गरेको छ।

बढ्दो मूल्य नियन्त्रण गर्ने प्रयासस्वरूप अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले आफ्नो आपतकालीन भण्डारबाट करिब ४० करोड ब्यारेल तेल बजारमा पठाउने घोषणा गरेको छ। तर विज्ञहरूका अनुसार यो कदमले तत्काल केही राहत दिन सक्छ, तर आपूर्तिमाथिको जोखिम कायम रहेसम्म बजारमा मूल्य उच्च नै रहने सम्भावना छ।

तेलको मूल्यवृद्धिको प्रभाव विश्वभर देखिन थालेको छ। अमेरिकामा पेट्रोलको मूल्य बढेको छ भने फिलिपिन्स र थाइल्यान्डजस्ता केही एसियाली देशमा इन्धन भर्नका लागि लामो लाइन देखिन थालेका छन्। ऊर्जा संकटलाई ध्यानमा राख्दै केही देशहरूले सरकारी कार्यालयको काम गर्ने समय घटाउने, साथै ‘वर्क फ्रम होम’ जस्ता विकल्प अपनाउन सुरु गरेका छन्।