काठमाडौं, २८ फागुन । क्रोएसियामा भएको सडक दुर्घटनामा दुई नेपाली युवाको मृत्यु भएको छ।
मृत्यु हुनेमा झापा मेचीनगर–१२ नयाँबस्तीका ३९ वर्षीय भरत कार्की र सल्यान कुमाख गाउँपालिकाका २७ वर्षीय भुवन विक रहेका छन्।
रोजगारीका लागि बोस्निया र हर्जेगोभिना गएका उनीहरू घुम्नका लागि क्रोएसिया जाँदा बाटोमै भएको दुर्घटनामा परेर ज्यान गुमाएका हुन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) क्रोएसियाका अध्यक्ष साइमन तामाङले उक्त जानकारी दिएका हुन्।
उनका अनुसार दुर्घटना फेब्रुअरी १२ तारिखमा भएको थियो। दुर्घटनामा ज्यान गुमाएका दुवै नेपालीको शव नेपाल ल्याउन पहल भइरहेको तामाङले बताए।
उनले भियनास्थित नेपाली दूतावाससँग यस विषयमा छलफल भएको जानकारी दिँदै एउटा शव नेपाल ल्याउन ६ हजार युरोभन्दा बढी खर्च लाग्ने बताए।
शव नेपाल ल्याउन सहजीकरणका लागि विश्वप्रकाश शर्मासँग पनि कुराकानी गरिएको तामाङले बताए।
प्रारम्भिक जानकारीअनुसार बोस्नियाबाट क्रोएसिया घुम्न जाने समूहमा तीन नेपाली र एक पाकिस्तानी नागरिक रहेका थिए। दुर्घटनामा एक नेपाली महिला र एक पाकिस्तानी नागरिक घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको जनाइएको छ।





