राजनीति

एमालेले समानुपातिकतर्फ १६ सांसदको नाम टुंग्यायो

३० फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली को निवास गुण्डुमा बसेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) सचिवालय बैठकले समानुपातिक प्रणालीतर्फका १६ जना सांसदको नाम अन्तिम गरेको छ। बन्दसूचीमा रहेका उम्मेदवारहरूबाट समावेशी सिद्धान्तका आधारमा नाम छनोट गरिएको पार्टी स्रोतले जनाएको छ।

स्रोतका अनुसार सिट संख्या कम भएकाले धेरै लामो छलफल आवश्यक परेन र बैठकमा प्रस्तुत नामहरूमा अधिकांश नेताहरू सहमत भएका थिए। मधेशी पुरुष क्लस्टरको नाम छनोटमा भने उपमहासचिव रघुवीर महासेठ ले असहमति जनाएका थिए। तर अन्ततः चण्डेश्वर मण्डल को नाम सिफारिस गरिएको बताइएको छ।

आदिवासी–जनजाति पुरुषतर्फ पार्टीका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सूचीको पहिलो नम्बरमा भएकाले सांसद बन्ने भएका छन्। यसै समूहबाट कुलभक्त शाक्य को नाम पनि समानुपातिक सांसदका लागि सिफारिस गरिएको छ।

खस–आर्य पुरुषतर्फ एमालेका पूर्व उपाध्यक्ष गुरु बराल लाई समानुपातिक सांसदका रूपमा सिफारिस गरिएको छ। साथै एमाले लेखा आयोगका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पुष्प कँडेल को नाम पनि सूचीमा परेको छ।

खस–आर्य महिलातर्फ पार्टी सचिव पद्या अर्याल सांसद बन्ने भएकी छन्। यसै क्लस्टरबाट टुकाभद्र हमाल को नाम पनि सिफारिस गरिएको छ।

त्यस्तै आदिवासी–जनजाति महिलातर्फ भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ, थारु पुरुषतर्फ कृपाराम राना, दलित महिलातर्फ बिष्णुमाया बिके र नीता घतानी चयन भएका छन्।

मधेशी महिलातर्फ रिङ्ला यादव र यशोधाकुमारी यादव तथा मुस्लिम महिलातर्फ साजिदा सिद्दीकी को नाम पनि समानुपातिक सांसदका लागि टुंग्याइएको छ।

यस निर्णयसँगै एमालेले समानुपातिक र प्रत्यक्ष निर्वाचनबाट गरी कुल २५ सांसदको सूची तयार गरेको छ। प्रत्यक्ष निर्वाचनतर्फ भने तुलनात्मक रूपमा युवा नेताहरू निर्वाचित भएका छन्, जसमा सुहाङ नेम्वाङ, क्षितिज थेबे, ऐन महर र मोहम्मद इस्तियाक राई लगायतका नेताहरू रहेका छन्।

यसपटकको चुनावमा पार्टीले संसदीय इतिहासकै ठूलो पराजय बेहोरे पनि समानुपातिकतर्फ वरिष्ठ नेताहरूलाई सांसद बनाइएको देखिन्छ भने प्रत्यक्षतर्फ युवा नेताहरूको उपस्थिति उल्लेखनीय देखिएको छ।