आर्थिक

फागुनमा वैदेशिक लगानी प्रतिबद्धता घट्यो, न्यून स्तरमा झर्‍यो एफडीआई

३ चैत, काठमाडौं । चालु आर्थिक वर्षको फागुन महिनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता उल्लेख्य रूपमा घटेको देखिएको छ। उद्योग विभाग का अनुसार फागुनमा मात्र ३८ करोड ६० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ, जुन अघिल्लो महिनाहरूको तुलनामा निकै न्यून हो।

विभागका तथ्यांकअनुसार माघसम्म ४० अर्ब २८ करोड रुपैयाँ रहेको कुल एफडीआई प्रतिबद्धता फागुनसम्म आइपुग्दा ४० अर्ब ६६ करोड रुपैयाँमा मात्र सीमित भएको छ। यसले फागुन महिनामा लगानी वृद्धि निकै सुस्त भएको संकेत गर्छ।

चालु आर्थिक वर्षको सुरुआती महिनामा भने लगानी उत्साहजनक थियो। विशेषगरी साउन महिनामा २० अर्ब रुपैयाँभन्दा बढी एफडीआई प्रतिबद्धता आएको थियो। तर भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि लगानीकर्ताको आकर्षण क्रमशः घट्दै गएको देखिन्छ।

गत वर्षको सोही अवधिसँग तुलना गर्दा पनि यस वर्षको अवस्था कमजोर देखिएको छ। २०८१ सालको फागुनमा मात्र १७ अर्ब ७९ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो भने त्यतिबेला फागुनसम्म कुल ४४ अर्ब ६६ करोड रुपैयाँ एफडीआई स्वीकृत भएको थियो।

यस आर्थिक वर्षमा हालसम्म ५ सय ५४ कम्पनी दर्ता भएका छन्। जसमध्ये ३ सय ७७ कम्पनी अटोमेटिक रुटबाट र १ सय ७७ कम्पनी अप्रुभल रुटबाट दर्ता भएका हुन्। फागुन महिनामा मात्र ३० नयाँ कम्पनी दर्ता भएका छन्।

उद्योग संरचनाको विश्लेषण गर्दा साना उद्योगको वर्चस्व देखिएको छ। कुल दर्तामध्ये ५ सय ३७ साना उद्योग रहेका छन् भने मझौला र ठूला उद्योगको संख्या समान रूपमा ८–८ वटा मात्र छ। फागुनमा दर्ता भएका सबै ३० उद्योग पनि साना प्रकृतिका छन्।

क्षेत्रगत रूपमा हेर्दा सूचना प्रविधि (आईटी) क्षेत्रमा सबैभन्दा धेरै आकर्षण देखिएको छ। कुल ३ सय ७ कम्पनी यस क्षेत्रमा दर्ता भएका छन्, जुन करिब ५५ प्रतिशत हो। पर्यटन क्षेत्रमा १ सय ५५ (२८ प्रतिशत) कम्पनी दर्ता भएका छन् भने उत्पादनमूलक ३७ र कृषि क्षेत्रमा १४ उद्योग दर्ता भएका छन्।

समग्रमा, पछिल्ला महिनाहरूमा लगानी प्रतिबद्धता घट्दै जानु र साना उद्योगमा मात्र सीमित रहनुले देशको लगानी वातावरणमा चुनौती बढ्दै गएको संकेत गरेको छ।