समाचार

एक मतको लागत २८४ रुपैयाँ

५ चैत, काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिमतदाता औसत २८४ रुपैयाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेपछि आयोगले पत्रकार सम्मेलनमार्फत खर्च विवरण सार्वजनिक गरेको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन खर्चलाई मितव्ययी बनाउन पहिलेदेखि खरिद गरिएका सामग्री पुनः प्रयोग गर्ने नीति अपनाइएको थियो। साथै, निर्वाचन सामग्री खरिदका लागि सरकारी स्वामित्वमा रहेका संस्थासँग सम्झौता गरी प्रक्रिया अघि बढाइएको थियो।

निर्वाचनमा प्रयोग हुने ५० प्रकारका सामग्रीमध्ये ३७ प्रकार प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमार्फत खरिद गरिएको थियो भने १३ प्रकारका सामग्री आयोगले केन्द्रबाट खरिद गरी जिल्लासम्म ढुवानी गरेको जनाएको छ।

निर्वाचन सञ्चालनका लागि आयोगले ७ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी बजेट माग गरेकामा अर्थ मन्त्रालयबाट ६ अर्ब ७६ करोड रुपैयाँ स्रोत सहमति प्राप्त भएको थियो। हालसम्म करिब ३ अर्ब ५४ करोड रुपैयाँ खर्च भइसकेको र बाँकी रकम भुक्तानी प्रक्रियामा रहेको आयोगले स्पष्ट पारेको छ।

निर्वाचनमा स्वदेशी तथा विदेशी पर्यवेक्षकहरूको उल्लेख्य सहभागिता रहेको थियो। अन्तर्राष्ट्रिय स्तरबाट २२ कूटनीतिक नियोगका १६४ प्रतिनिधि तथा तीन अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिले अवलोकन गरेका थिए भने राष्ट्रिय स्तरमा ३५ गैरसरकारी संस्थाले निर्वाचनको अनुगमन गरेका थिए।

आयोगले लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउँदै मतदानमार्फत प्रतिनिधि चयन गर्ने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेको छ। साथै निर्वाचन सफल बनाउन योगदान गर्ने नेपाल सरकार, प्रदेश र स्थानीय तह, सुरक्षा निकाय, कर्मचारी, राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम तथा अन्तर्राष्ट्रिय समुदायप्रति पनि धन्यवाद ज्ञापन गरेको छ।