७ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानविरुद्धको युद्धमा अमेरिका आफ्नो लक्ष्यको निकै नजिक पुगेको बताएका छन् र अब बिस्तारै सैन्य अभियान घटाउनेबारे विचार गरिरहेको बताए। शनिबार सामाजिक सञ्जाल ट्रूथमा अभिव्यक्ति सार्वजनिक गर्दै ट्रम्पले भने, “हामी इरानको आतंकी शासनलाई लक्षित गरेर मध्यपूर्वमा सुरु गरेको ठूलो सैन्य अभियान विस्तार–बिस्तारै समाप्त गर्नेबारे सोचिरहेका छौँ, किनभने हामीले आफ्नो लक्ष्यको निकै नजिक पुगिसकेका छौँ।”
इरानले अमेरिका र इजरायलमाथि भएको सैन्य आक्रमणपछि स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी गरेपछि विश्वव्यापी ऊर्जा संकट र तनाव उत्पन्न भएको छ। तर ट्रम्पले अमेरिकालाई त्यसको सुरक्षाबारे चिन्ता नभएको र त्यसको निगरानी ती देशहरूले आफैं गर्नुपर्ने बताए। उनले भने, “यदि ती देशले सहयोग मागे, हामी मद्दत गर्ने प्रतिबद्धता छ, तर इरानको खतरा समाप्त भएपछि हाम्रो सहयोग आवश्यक नहुनेछ, किनभने ती देशका लागि यो सजिलो सैन्य अभ्यास हुनेछ।”
ट्रम्पले दाबी गरेका छन् कि हालसम्मको युद्धमा इरानको मिसाइल क्षमता पूर्ण रूपमा नष्ट भइसकेको, सैन्य औद्योगिक आधार ध्वस्त भइसकेको र इरानले कहिल्यै परमाणु हतियार बनाउन नपाउने सुनिश्चित गरिएको छ। साथै उनले अमेरिकाले मध्यपूर्वमा आफ्ना सहयोगीहरू-इजरायल, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत लगायत-लाई उच्चतम सुरक्षा प्रदान गरेको पनि उल्लेख गरेका छन्।




