अन्तर्राष्ट्रिय

इरानको चेतावनी: युद्धविराम होइन, पूर्ण र स्थायी शान्ति चाहन्छौं

७ चैत, काठमाडौं । इरानले अमेरिका र इजरायलसँग युद्धविराम नचाहेको स्पष्ट पारेको छ। विदेशमन्त्री अब्बास अरागचीले जापानी मिडिया संस्था ‘क्योडो न्युज’सँगको कुराकानीमा युद्धको पूर्ण र स्थायी अन्त्य चाहेको बताएका छन्।

अरागचीले भने, “इरान युद्धविरामको पक्षमा छैन। हामी चाहन्छौं कि यो युद्ध पूर्ण, व्यापक र स्थायी रूपमा समाप्त होस्।” उनले भने कि युद्धलाई अन्त्य गर्न सक्ने कुनै पनि पहलको स्वागत गर्ने तर इरानमाथि थोपारिएको संघर्षलाई पनि देखाइरहेका छन्।

अरागचीले यो पनि स्पष्ट पारे कि इरान कुनै प्रस्ताव सुन्न र त्यसको मूल्यांकन गर्न तयार छ। उनले भने, “केही देश मध्यपूर्वमा जारी द्वन्द्वको समाधान खोजिरहेका छन्, तर अमेरिका आफ्नो आक्रामकता रोक्न तयार देखिँदैन।”

अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व चाँडै अन्त्य हुने दिशामा रहेको बताएका थिए। उनले ट्रुथ सोशलमा पोस्ट गर्दै भनेका थिए, “हामी हाम्रो लक्ष्य हासिल गर्न अत्यन्त नजिक छौं।”

इरान र अमेरिका–इजरायल बीचको यस विवादले मध्यपूर्वको राजनीतिक परिस्थिति अझ संवेदनशील बनाएको छ, र स्थायी समाधान खोज्न दुवै पक्षबीच अन्तर्राष्ट्रिय कूटनीतिक प्रयास जारी रहने देखिन्छ।