समाचार

सम्झौताअनुसार काम नगर्ने निर्माण कम्पनीलाई १ करोड १६ लाख जरिवाना

८ चैत, चितवन । चितवनको कालिका नगरपालिकाले तोकिएको समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई रु एक करोड १६ लाख जरिवाना गरेको छ ।

कालिका नगरपालिकाले पटक–पटक म्याद थप गर्दासमेत प्रशासकीय भवन निर्माण नगरेको भन्दै रविना कन्ट्रक्सनलाई जरिवाना गरिएको हो ।

नगरप्रमुख विनोद रेग्मीले रविना कन्ट्रक्सनले २०७६ फागुन १५ गते दुई वर्षमा काम सम्पन्न गर्ने गरी कार्यादेश लिएपनि चार पटक म्याद थप गरी अन्तिम २०८१ साल कात्तिक ३० गतेसम्म पुर्‍याएको थियो । खरिद ऐनमा म्याद सकिएपछि काम नसकिएमा जरिवाना लगाएर काम गर्न समय दिन मिल्ने प्रावधान रहेको छ । नगरपालिकाका तर्फबाट गर्नुपर्ने सहजीकरण गर्दासमेत काम नगरेपछि कार्यपालिका बैठकले जरिवानाको निर्णय गरी नगर परिषदबाटसमेत अनुमोदन गरिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंका अनुसार नगरपालिकाको निर्णय चित्त नबुझाइ उच्च अदालत हेटौँडामा निर्माण व्यवसायीले मुद्दा दर्ता गराएका थिए । उनका अनुसार अदालतले मुद्दा खारेज गरेको छ । निर्माण कम्पनीले काम ९५ प्रतिशत सम्पन्न गरेको छ । रु ११ करोड ५६ लाखमा भवन निर्माणको सम्झौता भएको थियो ।

कम्पनीलाई हालसम्म रु सात करोड भुक्तानी गरिएको छ । निर्माण व्यवसायीले नगरपालिकालाई १० प्रतिशत रकम कटाएर भुक्तानी गर्न अनुरोध गरेको छ । चौलागार्इंका अनुसार निर्माण कम्पनी मध्यस्थकर्ताकोमा छलफल गराउने प्रयासमा छ ।

छलफलपछि जरिवाना हटेमा बाँकी रकम पछि लिने गरी भवन हस्तान्तरण गर्ने तयारीमा कम्पनी छ । उनका अनुसार जरिवाना रकम बाँकी राखेर अरु रकम भुक्तानी गर्न नगरपालिका तयार छ । सो भवनमा जेनजी आन्दोलनको समयमा तोडफोड भएको थियो । निर्माण कम्पनीले बिमा दाबी गरेर मर्मत सम्भार सकेको छ ।