८ चैत, काठमाडौं । संघीय संसद्मा प्रतिनिधित्व गर्ने ६ वटा राष्ट्रिय दलमध्ये दुई दलले प्रमुख सचेतकको सुविधा नपाउने भएका छन् ।
१० भन्दा कम सांसद संख्या भएका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टी यस सुविधाबाट वञ्चित हुने भएका हुन् ।
संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ अनुसार प्रतिनिधिसभामा १० भन्दा बढी सदस्य भएको दलले मात्र प्रमुख सचेतक नियुक्त गरी सो सुविधा पाउन सक्ने व्यवस्था छ ।
ऐनको परिभाषा खण्डमा प्रमुख सचेतक भन्नाले १० भन्दा बढी सदस्य भएको दलले तोकेको प्रतिनिधिसभाको सदस्यलाई जनाउने उल्लेख गरिएको छ ।
हालै सम्पन्न २१ फागुनको निर्वाचनपछि गठन भएका दलहरूमध्ये श्रम संस्कृति पार्टीका ७ जना र राप्रपाका ५ जना सांसद मात्र रहेका छन्, जसका कारण उनीहरू उक्त सुविधा पाउन अयोग्य भएका हुन् ।
अन्य दलहरू भने आवश्यक संख्या पूरा गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी का १८२, नेपाली कांग्रेस का ३८, नेकपा एमाले का २५ र नेपाल कम्युनिस्ट पार्टी का १७ सांसद रहेका छन् ।
ऐनअनुसार प्रमुख सचेतकले सवारी सुविधा, दुई जना चालक, छुट्टै कार्यालय, कार्यालय सहयोगी तथा मासिक १५ हजार रुपैयाँ अतिथि सत्कार खर्च पाउने व्यवस्था छ ।





