९ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं २९ ले नागरिकहरूको स्वास्थ्य सुविधालाई ध्यानमा राख्दै अतिरिक्त ल्याब सेवा सञ्चालनमा ल्याएको छ।
यस सेवा अन्तर्गत अब प्रत्येक हप्ताको आइतबार र बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म ल्याब परीक्षण गराउन सकिनेछ । वडा नं. २९ शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, अनामनगरमा उपलब्ध हुने यो सेवाले स्थानीय बासिन्दाहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।
काठमाडौं महानगरपालिका स्वास्थ्य विभागको पत्र संख्या २०८२र८३, मिति २०८२\११\२७ र स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको मिति २०८२/१२/०८ को निर्णय अनुसार यो अतिरिक्त सेवा सुरु गरिएको हो। यस अतिरिक्त सेवाको मुख्य उद्देश्य नागरिकहरूलाई सहज र सुलभ तरिकाले ल्याब सेवा उपलब्ध गराउनु रहेको छ।
तोकिएका दिन र समयबाहेक अन्य दिनहरूमा भने साविक बमोजिम नै सेवा सुचारु रहने वडा कार्यालयले जनाएको छ। यस पहलले वडा नं २९ का बासिन्दाहरूको स्वास्थ्य सेवामा पहुँच बढ्ने र उनीहरूको स्वास्थ्य अवस्था सुधार गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।





