१३ चैत, काठमाडौं । व्यावसायिक घराना चौधरी ग्रुपले अन्तर्राष्ट्रिय होटल समूह मेरिअट इन्टरनेसनलसँगको साझेदारीमा नेपालको राजधानी काठमाडौंमा प्रतिष्ठित लक्जरी ब्रान्ड ‘द रिट्ज-कार्लटन’ स्थापना गर्ने घोषणा गरेको छ। यो नेपालको आतिथ्य क्षेत्रमा गरिएको सबैभन्दा ठूलो लगानीमध्ये एक मानिएको छ।
सन् १९८३ मा स्थापित रिट्ज-कार्लटन ब्रान्ड हाल ३० देशमा १८० भन्दा बढी होटल तथा रिसोर्ट सञ्चालन गर्दै आएको छ। चौधरी ग्रुप अन्तर्गतको सीजी हस्पिटालिटी ग्लोबलले यस ऐतिहासिक परियोजनामा रविन्द्र श्रेष्ठ (आईजे ग्रुप), सौरव शर्मा (शर्मा एन्ड कम्पनी), अमृत शाक्य र सञ्चित श्रेष्ठसँग साझेदारी गरेको छ।
होटलको भूमिपूजन कार्यक्रम शुक्रबार ठमेलमा सम्पन्न भएको छ। परियोजनामा १५० कोठा क्षमता भएको अल्ट्रा लक्जरी होटल, ब्रान्डेड रेसिडेन्स, व्यावसायिक कम्प्लेक्स र क्यासिनो रहने छ। दरबारमार्ग नजिक ठमेलमा ९ रोपनी जग्गामा विकास भइरहेको यस परियोजनाको अनुमानित लागत करिब १० करोड अमेरिकी डलर (१५ अर्ब रुपैयाँ) रहेको छ। परियोजना सन् २०२९ मध्यसम्म पूरा गर्ने लक्ष्य राखिएको छ।
होटल सञ्चालनमा आएपछि प्रतिरात कोठाको भाडा १ हजार डलरभन्दा बढी हुने अपेक्षा गरिएको छ, जसले नेपाललाई उच्च गुणस्तरीय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने छ। सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरीले भने, “रिट्ज–कार्लटनको प्रवेशले हाम्रो समूहको नेपालको पर्यटन क्षेत्रमा विश्वस्तरीय योगदान पुष्टि गर्छ। यो परियोजना रोजगारी सिर्जना, उच्चस्तरीय पर्यटन प्रवर्द्धन र आर्थिक वृद्धि बढाउन केन्द्रित छ।”
हाल सीजी हस्पिटालिटी ग्लोबल १२ देशका १३० भन्दा बढी गन्तव्यमा २३० भन्दा बढी होटल र रिसोर्ट सञ्चालन गर्दै आएको छ। चौधरी ग्रुप नेपालकै सबैभन्दा ठूलो व्यापारिक घराना, सबैभन्दा ठूलो करदाता र रोजगार सिर्जनाकर्ता समूह हो।





