१५ चैत, काठमाडौं । आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुर्व गृहमन्त्री रमेश लेखकको पक्राउलाई लिएर नेता सुरेन्द्र पाण्डेले बिरोध जनाएका छन् ।
नेता पाण्डेले कार्यकर्तालाई सडकमा ओरालेर मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा नभएको बताएका छन् । अध्यक्ष ओली पक्राउ परेपछि यतिबेला एमाले कार्यकर्ताहरु सडकमा उत्रिएका छन् । तर न्याय स्थापित प्रक्रियाबाट हुनुपर्ने उनको धारणा छ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् राख्दै नेता पाण्डेले ‘जहाँ आरोप र प्रमाणको सही परीक्षण होस्। केही व्यक्तिमाथि मात्र सबै सजाय थुपार्ने यो हतारो न्यायका लागि हो कि राजनीतिक सन्देशका लागि ?,’ भन्दै सरकारलाई प्रश्न गरेका छन्।
आफूलाई एमालेका कार्यकर्ताको चिन्ता रहेको बताउँदै पार्टीलाई जीवन सुम्पेका ती हजारौं कार्यकर्तालाई सडकमा ओराल्नु र मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा नभएको बताएका हुन्।
‘त्यसैले न्याय होस् – तर निष्पक्ष र प्रक्रियागत,’ उनले अगाडी लेखेका छन्।






