समाचार

कम्बोडियामा अवैध काम गर्दै आएका १२ जना नेपालीको उद्धार

१७ चैत, काठमाडौं । कम्बोडिया पुगेर अवैध अनलाइन स्क्यामिङ्ग केन्द्रहरूमा काम गर्दै आएका १२ जना नेपाली स्वदेश फिर्ता भएका छन्।

विभिन्न व्यक्तिहरुको प्रलोभनमा विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ्ग केन्द्रहरू, क्यासिनोहरूमा अनलाईन ठगि तथा अन्य विभिन्न गैरकानुनी काममा लगाइएकानेपालीलाई स्वदेश फिर्ता गरिएको नेपाली राजदूतावास, बैंककले जनाएको छ।

अनलाईन ठगीसँगै कम्बोडियामा बिना भिषा बसिरहेका उनीहरुलाई राजदुतावासको पहल र कम्बोडियाको सरकारको सहयोगमा उद्दार गरि गैर आवाशीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा सोमबार कम्बोडिया नेपाल पठाइएको हो।

उनीहरु आजै त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछन् । कम्बोडियामा अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीहरूलाई नेपाल फर्काउने पहल भइरहेको दूतावासले जनाएको छ।

दूतावासका अनुसार कम्बोडियामा नेपाली नागरिकहरु अनलाईन ठगी लगायत गैर कानुनी काममा लगाईएको र बिना भिषा वा भिषा-अवधीभन्दा बढि समय बसिरहेका छन्।

कम्बोडियामा अवैध अवस्थामा बसिरहेका नेपाली नागरिकहरूलाई नेपाल फर्कन सहजिकरणका लागि नेपाली राजदुतावास बैंकक वा गैर-आवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिहरु सँग यथाशीघ्र सम्पर्क गर्न पनि दुतावासले अनुरोध गरेको छ।