पर्यटन/संस्कृति

पश्चिम संकटबीच नेपालमा पर्यटकको लहर

१८ चैत, काठमाडौं । सन् २०२६ को मार्च महिनामा नेपालमा १ लाख २० हजार ५ सय १६ विदेशी पर्यटक भित्रिएका छन्। वैश्विक चुनौतीबीच पनि समग्र आगमन सन्तुलित देखिएको छ, जसमा विशेषगरी दक्षिण एसियाली र अन्य एसियाली मुलुकबाट आउने पर्यटकले बजारलाई मजबुत बनाएका छन्।

नेपाल पर्यटन बोर्ड का अनुसार मार्चमा मात्र दक्षिण एसियाली (सार्क) मुलुकबाट ४२ हजार ६ सय ६८ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको करिब ३५ प्रतिशत हो। यसमध्ये भारतबाट सबैभन्दा धेरै २५ हजारभन्दा बढी पर्यटक आएका छन् भने श्रीलंका र बंगलादेशबाट पनि उल्लेख्य संख्यामा आगमन भएको छ।

त्यस्तै, चीन, म्यानमार र थाइल्यान्डसहित ‘अन्य एसिया’ क्षेत्रबाट ३३ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन्। जापान, मलेसिया र दक्षिण कोरियाबाट पनि आगमन उल्लेख्य देखिएको छ। यसले नेपालको पर्यटन बजारमा एसियाली उपस्थितिलाई झन् बलियो बनाएको संकेत गर्दछ।

तर, युरोप र अमेरिकाबाट आउने पर्यटक संख्या अपेक्षाकृत स्थिर रहेको छ। विशेषगरी पश्चिम एसियामा जारी द्वन्द्व र त्यसका कारण अन्तर्राष्ट्रिय उडानमा परेको प्रभावले ती बजारबाट आउने पर्यटकमा कमी आएको मानिन्छ। यद्यपि, ती क्षेत्रबाट आउने पर्यटक उच्च खर्च गर्ने भएकाले उनीहरूको योगदान अझै महत्वपूर्ण रहेको पर्यटन क्षेत्रका जानकारहरू बताउँछन्।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी का अनुसार हालको तथ्यांक निराशाजनक नभए पनि पूर्ण रूपमा सन्तोषजनक भने होइन। “युरोप र अमेरिकाबाट केही कमी भए पनि भारत लगायत छिमेकी देशबाट बढ्दो आगमन सकारात्मक संकेत हो,” उनले बताए।

मार्च–अप्रिललाई नेपालको प्रमुख पर्यटकीय सिजन मानिन्छ, जहाँ हिमाल आरोहण, ट्रेकिङ, साहसिक गतिविधि र सांस्कृतिक भ्रमणका लागि पर्यटकको चाप बढ्ने गर्दछ। तर यस वर्ष अन्तर्राष्ट्रिय परिस्थितिका कारण अपेक्षित वृद्धि हुन नसकेको देखिन्छ।

यही अवस्थालाई मध्यनजर गर्दै पर्यटन बोर्डले वैकल्पिक बजार विस्तार, छिमेकी देशमा लक्षित प्रवर्द्धन र अन्तर्राष्ट्रिय स्तरमा उपस्थितिलाई सुदृढ बनाउने रणनीति अघि बढाएको छ। बदलिँदो वैश्विक परिवेशबीच नेपालको पर्यटन क्षेत्रले सन्तुलित र दिगो मार्ग खोज्ने प्रयास जारी राखेको छ।