२१ चैत, काठमाडौं । नेपालको संघीय संसद् प्रतिनिधिसभामा सभामुख चयन भएसँगै अब उपसभामुख पदका लागि राजनीतिक चलखेल तीव्र भएको छ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल निर्विरोध सभामुख निर्वाचित भएपछि उपसभामुख पदका लागि विभिन्न दलहरूले लबिङ सुरु गरेका हुन्।
संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक–फरक दल र लिङ्गको हुनुपर्ने प्रावधानले रास्वपाले विपक्षी दलहरूबाटै उपसभामुख चयन गर्नुपर्ने अवस्था सिर्जना भएको छ। यही कारणले प्रमुख विपक्षी दलहरूबीच उक्त पदका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ।
यसै सन्दर्भमा शनिबार रास्वपा सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाही बीच भेटवार्ता भएको छ। लामिछानेको निजी निवासमा करिब एक घण्टा चलेको उक्त संवाद उपसभामुख पदका लागि सम्भावित सहकार्य तथा संसदभित्र साझा रणनीति बनाउने विषयमा केन्द्रित रहेको स्रोतले जनाएको छ।
उपसभामुख पदका लागि अन्य दलहरूले पनि सक्रियता बढाएका छन्। श्रम संस्कृति पार्टी ले शनिबार नै उक्त पदमा आफ्नो दाबी प्रस्तुत गरेको छ। पार्टीका अध्यक्ष हर्क साम्पाङ ले नयाँ दललाई अवसर दिन रास्वपाले समर्थन गर्ने अपेक्षा व्यक्त गरेका छन्।
यसैगरी, नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पनि उपसभामुख पदमा आफ्नो दाबी प्रस्तुत गर्दै रास्वपासँग आन्तरिक छलफल अघि बढाएका छन्।
सभामुख चयनपछि उपसभामुख पदको प्रतिस्पर्धा अझ रोचक बन्दै गएको छ भने आगामी दिनमा हुने राजनीतिक सहमति र समीकरणले अन्तिम निर्णय निर्धारण गर्ने देखिएको छ।





