२४ चैत, काठमाडौं । ज्योति विकास बैंकले तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा सप्तरी जिल्लाका ७० जना स्थानीयलाई नि:शुल्क मोतिबिन्दु शल्यक्रिया गरेको छ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत उक्त नि:शुल्क आँखा जाँच तथा मोतिबिन्दु शल्यक्रिया शिविरमा सहयोग गरेको हो।
सप्तरी जिल्लाको रुपनगरस्थित तिलगंगा सर्जिकल आँखा केन्द्रको परिसरमा आयोजित उक्त स्वास्थ्य शिविरमा २००० भन्दा बढी व्यक्तिको नि:शुल्क आँखा जाँच भएको हो। सो कार्यक्रममा ४०७ जनाको मोतिबिन्दु शल्यक्रिया सम्पन्न भएकोमा ज्योति विकास बैंकको प्रत्यक्ष सहयोगमा ७० जना स्थानीयको निस्शुल्क शल्यक्रिया भएको छ।
साथै, ४०७ जना बिरामीहरुको शल्यक्रिया पश्चात आवश्यक पर्ने चस्मा र औषधिहरू पनि नि:शुल्क प्रदान गरिएको छ। यस पहलमार्फत दृष्टिविहीन हुन सक्ने जोखिममा रहेका समुदायका सदस्यहरूलाई सहज र गुणस्तरीय उपचार सेवा नि:शुल्क उपलब्ध गराउँदै उनीहरूको जीवनस्तर सुधारमा बैंकले योगदान दिएको छ।
स्थानीयको दैनिकीमा सहजताका साथै आत्मनिर्भरतामा समेत टेवा पुर्याउने उद्देश्यका साथ बैंकले यस कार्यक्रममा सहकार्य गरेको हो।
ज्योति विकास बैंकले आफ्नो १७औ वार्षिकोत्सवको अवसरमा तिलगंगा आँखा प्रतिष्ठानसँग सहकार्य गरी नि:शुल्क मोतिबिन्दु शल्यक्रिया सेवा प्रदान गर्ने घोषणा गरेको थियो। उक्त सहकार्य सम्झौता अनुरुप मोतिबिन्दु शल्यक्रिया सम्पन्न गरिएको छ।
ज्योति विकास बैंकले आगामी दिनहरूमा पनि यस्ता प्रभावमुखी सामाजिक पहलहरूलाई निरन्तरता दिँदै समाजको समग्र विकास र अभ्युदयमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।





