समाचार

पूर्वसभामुख महरा सुन काण्डमा तानिए

२६ चैत,काठमाडौं । कृष्णबहादुर महरा विरुद्ध सुन तस्करी प्रकरणमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा मुद्दा विशेष अदालतमा पेश गरेको हो।

अख्तियारका कर्मचारीहरू अहिले विशेष अदालत पुगेका छन् र मुद्दासम्बन्धी विवरण रुजु गर्ने प्रक्रिया जारी रहेको स्रोतले जनाएको छ।

अनुसन्धानका क्रममा महरा र उनका छोरा राहुलको चिनियाँ गिरोहसँग सम्बन्ध र आर्थिक कारोबार भएको खुलेपछि अख्तियारले मुद्दा अगाडि बढाएको हो। यसअघि २०७९ सालमा भेपको आवरणमा सुन नेपाल भित्र्याउने प्रयास गर्दा भन्सारले उक्त गिरोहलाई पक्राउ गरेको थियो। सोही घटनाको अनुसन्धानका क्रममा महरा परिवारको संलग्नता भेटिएको बताइएको छ।

अख्तियारले भने मुद्दासम्बन्धी विस्तृत विवरण, आरोपको प्रकृति र बिगो रकमबारे अझै सार्वजनिक गरेको छैन।