२६ चैत, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ले विवादित छवि भएका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह लाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार साहका गतिविधि मन्त्रालयको स्वार्थसँग बाझिने खालका रहेको पाइएको छ।
स्रोतका अनुसार, साह विगतमा एजुकेसन कन्सल्टेन्सीको विवादमा संलग्न थिए र मन्त्री बनेपछि पनि शंकास्पद काममा संलग्न भएको छ भन्ने जानकारी प्रधानमन्त्रीसमक्ष पुगेको छ। “मान्छेहरू विदेश पठाउने संस्थाहरूमा उहाँको संलग्नता रहेको तथ्यहरू आएका छन्, रातिको समयमा भेटघाट गरेको सूचनाहरू पनि प्राप्त भएका छन्,” स्रोतले जानकारी दिएको छ।
त्यस्तै, साहकी श्रीमति जुनु श्रेष्ठ स्वास्थ्य बीमा बोर्डको सदस्य भएर बैठकमा सहभागी भएकी छन्, जुन विवादको विषय बनेको छ। उनी स्वास्थ्य बीमा बोर्डको बैठकमा लगातार ११ पटक अनुपस्थित रहँदा पदबाट हटाइएका थिए, तर अहिले सदस्यको हैसियतमा बैठकमा सामेल भएकी छन्।
प्रधानमन्त्री निकट स्रोतले भनेका छन् कि मन्त्रालयमा रहँदा स्वार्थ बाझिने काम भइरहेको पाइएपछि मन्त्रीलाई हटाउने निर्णय हुनसक्नेछ।





