प्रदेश 1

साइबर आरोपमा पक्राउ परेका युट्युबर छुटे

२९ चैत, पाँचथर । युट्युबमार्फत प्रधानमन्त्री बालेन्द्र शाह लगायतका नेताहरूलाई अपमानजनक शब्द प्रयोग गरेको आरोपमा पक्राउ परेका रोशन पोखरेल रिहा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिश कर्ण का अनुसार पोखरेललाई आवश्यक परेको बेला उपस्थित हुने शर्तमा आफन्तको जिम्मा लगाएर रिहा गरिएको हो ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ निवासी पोखरेललाई चैत २६ गते पक्राउ गरिएको थियो । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले उनलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउपछि जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको थियो ।

उनी पक्राउ परेसँगै सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेन्द्र शाहको आलोचना समेत बढेको छ । आलोचकहरूले उनका पुराना फेसबुक स्टेटस र भिडियोहरू पुनः सेयर गर्दै प्रतिक्रिया जनाइरहेका छन् ।