राजनीति

अध्यक्ष दाहालको सन्देश: रूपान्तरण गरौँ, नत्र अलग बाटो रोजौँ

९ वैशाख, काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको नयाँ रूप र भूमिकाको खोजीमा रहेको बताएका छन्। नेपालमा कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

कार्यक्रममा बोल्दै प्रचण्डले आफूले नेतृत्वको नयाँ स्वरूप खोजिरहे पनि राजनीतिक संघर्ष भने अन्तिम समयसम्म जारी राख्ने स्पष्ट पारे। उनले भने, “म पनि नेतृत्वको नयाँ रूप र नयाँ भूमिकाको खोजीमा छु, मलाई साथ चाहिएको छ। तर, म अन्तिम समयसम्म लडाइँ छोड्दिनँ।”

उनका अनुसार हाल पार्टीलाई पुनर्गठन र पुनर्संरचनातर्फ लैजाने महत्वपूर्ण अवसर प्राप्त भएको छ। यही सन्दर्भमा उनले पार्टीभित्र रूपान्तरण चाहनेहरूलाई मात्र संगठित हुन आग्रह गरे। “सच्चिन चाहनेहरू हामीसँग बस्ने, नचाहनेहरू अलग भए पनि हुन्छ,” उनले भने।

प्रचण्डले पछिल्लो समय विभिन्न समूहबीच एकता भएको उल्लेख गर्दै कसैलाई पनि फुट्न नदिन आफू प्रतिबद्ध रहेको बताए। यद्यपि, पार्टीभित्र रहेर असन्तुष्टि फैलाउने प्रवृत्ति स्वीकार्य नहुने उनले स्पष्ट गरे।

उनले पार्टीभित्र बसेर क्रान्तिकारी सोचसहित आत्मरूपान्तरण गर्न सक्नेहरूलाई मात्र अगाडि बढ्न आग्रह गर्दै वर्तमान समयलाई ऐतिहासिक अवसरका रूपमा चित्रण गरे।