पर्यटन/संस्कृति

पर्वतारोहणबाट १ अर्बभन्दा बढी रोयल्टी संकलन, ९४४ आरोहीलाई अनुमति

१० वैशाख, काठमाडौं । यस वर्षको बसन्त ऋतुमा हिमाल आरोहणबाट सरकारले १ अर्बभन्दा बढी रोयल्टी संकलन गरेको छ।

पर्यटन विभाग ले सार्वजनिक गरेको साप्ताहिक विवरणअनुसार बिहीबारसम्म ९४४ जना पर्वतारोहीले ३० वटा हिमाल चढ्न अनुमति प्राप्त गरेका छन्।

सबैभन्दा बढी आकर्षण सगरमाथा मा देखिएको छ। सगरमाथा आरोहणका लागि ४१ समूहका ४१० आरोहीले अनुमति लिएका छन्, जसबाट मात्रै ८९ करोड ३ लाख रुपैयाँ रोयल्टी संकलन भएको छ। यसमध्ये ९७ जना महिला आरोही रहेका छन्।

अन्य हिमालतर्फ लोत्से का लागि ८६, अमादब्लम का लागि ९२, मकालु प्रथम मा ५४ र हिमलुङ हिमाल का लागि ४४ आरोहीले अनुमति लिएका छन्।

देशअनुसार हेर्दा चीनबाट १२७, अमेरिकाबाट १००, बेलायतबाट ६४, रुसबाट ६० र अष्ट्रेलियाबाट २२ जना आरोहीले अनुमति लिएको विभागले जनाएको छ।

यो तथ्यांकले नेपालका हिमालहरूमा विदेशी तथा स्वदेशी पर्वतारोहीको आकर्षण निरन्तर बढ्दो रहेको देखाएको छ।