समाचार

किन माइकिङ गर्दैछ प्रहरी सुकुम्वासी बस्तीमा ?

१० वैशाख, काठमाडौं । काठमाडौंका विभिन्न सुकुमवासी बस्ती खाली गराउन प्रहरीले बिहीबार साँझदेखि माइकिङ सुरु गरेको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार थापाथलीसहित राजधानीका चार वटा सुकुमवासी बस्ती खाली गर्न आग्रह गर्दै सुरक्षा निकायले सूचना जारी गरेको हो।

यसअघि गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङ पछि प्रधानमन्त्री बालेन शाह ले सुरक्षा निकायका प्रमुखहरूलाई सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार जिल्ला सुरक्षा समितिको बैठक बसेर बस्ती खाली गराउने निर्णय गरिएको हो।

जिल्ला प्रशासन प्रमुख ईश्वरराज पौडेलको नेतृत्वमा बसेको बैठकमा काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनिता डंगोल लगायत सुरक्षा अधिकारीहरू सहभागी थिए।

प्रशासनका अनुसार बिहीबारदेखि सुरु भएको माइकिङमार्फत शुक्रबार साँझ ७ बजेसम्म अतिक्रमित बस्ती खाली गर्न भनिएको छ। यदि तोकिएको समयभित्र बस्ती खाली नभए शनिबारदेखि डोजर परिचालन गरिने तयारी गरिएको छ।

पहिलो चरणमा काठमाडौं उपत्यकाका चार वटा सुकुमवासी बस्ती हटाउने योजना रहेको प्रशासनले जनाएको छ।